दाङ, २१ कार्तिक । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) केन्द्रीय प्राज्ञिक परिषद् सदस्य अरुण कुमार शर्माले निजी विद्यालयमाथि चुनौतीको चाङ रहेको बताउनुभएकाे छ। आज शुक्रबार प्याब्सन दाङको बिस्तारित बैठकका प्रमुख अतिथिसमेत रहनुभएका शर्माले बैठकलाई सम्बोधन गर्दै निजी विद्यालयमाथि बग्रेल्ती चुनौती रहेको बताउनुभएकाे थियाे ।
प्रमुख अतिथि शर्माले निजी विद्यालयहरुले सुरुवातीदेखि नै समस्या झेल्दै आएका बताउनुभएकाे छ । ‘निजी बिद्यालयले सुरुवातीदेखि नै समस्या भोग्दै आएका छन् । चाहे स्थापनाका बेला होस् या जनयुद्धका बेला निजी बिद्यालयले समस्या झेल्दै आएका छन् । निजी विद्यालय विभिन्न आन्दोलनको सिकार बन्दै आएका छन् । राज्यमा हुने हरेक आन्दोलनको मारमा निजी विद्यालय पर्दै आएका छन् ।’ शर्माले थप्नुभयाे, ‘शैक्षिक गुणस्तरको धरोहरको रुपमा रहेका निजी विद्यालयको समस्याप्रति राज्य गम्भीर बन्न सकेको छैन । शैक्षिक गुणस्तरमा निजी विद्यालयले दिएको योगदानको मूल्याङ्कन राज्यले गर्न सकेको छैन । राज्यले मूल्याङन गर्न नसकेको हो या नचाहेको हो यसप्रति निजी विद्यालयका सञ्चालक गम्भीर हुन जरुरी छ ।’

नयाँ आउन थालेको विद्यालय शिक्षा ऐनमा समेत निजी विद्यालयको हित विपरीत रहेको शर्माले उल्लेख गर्नुभयाे । ‘जेनजी आन्दोलन पूर्व संसदमा टेबल भएको शिक्षा ऐनले निजी विद्यालयको माग सम्बोधन गर्न सकेको छैन । बन्दै गरेका तथा बन्ने ऐनहरुले पनि निजी विद्यालयलाई तारो बनाउँदै आएको स्पष्ट नै छ । निजी विद्यालय सञ्चालकहरु यसप्रति सचेत रहन आवश्यक छ ।’ शर्माले भन्नुभयाे ‘निजी विद्यालयका सञ्चालकका लागि शैक्षिक गुणस्तर कायमका साथै संस्था सञ्चालनमा समेत चुनौती छ । चुनौतीसँग लड्नका लागि छाता सङ्गठन आवश्यक पर्दछ । यसका लाथि प्याब्सनले खेल्दै आएको भूमिका आफैमा सह्रानीय छ ।’

प्याब्सन केन्द्रीय प्याब्सनका निवर्तमान सचिव यादव गिरी, प्याब्सन लुम्बिनी प्रदेशका सल्लाकार केशव थापा, प्याब्सन दाङका सल्लाहकारहरु जीवनकुमार आचार्य, रेशमबहादुर बुढा, प्याब्सन लुम्बिनी प्रदेशका सदस्य तेज विष्ट लगायतले मन्तव्य राख्नुुभएकाे थियाे।

प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । प्याब्सन दाङका उपाध्यक्ष शोभाखर भुषालको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको सहजीकरण सचिव आदिम के.सी.ले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस