घाेराही, ८ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले साताैँ वार्षिक साधारणसभा सम्पन्न गरेकाे छ । प्याब्सन घाेराहीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीकाे प्रमुख आतिथ्यता तथा सह-अध्यक्ष गाेपाल प्रसाद आचार्यकाे विशिष्ट आतिथ्यतामा साधारणसभा भएकाे थियाे ।

साताैँ साधारणसभाका अवसरमा प्याब्सन घाेराहीले १० वर्षभन्दा धेरै समय अनवरतरुपमा एउटै विद्यालयमा प्रिन्सिपलकाे जिम्मेवारी बहन गरिरहनुभएका प्रिन्सिपलहरुलाई विभिन्न पदक, सम्मानपत्र र दाेसल्लाले सम्मान गरेकाे थियाे । वि.सं. २०५३ पुस २६ गतेदेखि निरन्तर प्रिन्सिपलकाे जिम्मेवारीमा रहनुभएका पशुपति विद्याश्रम नारायणपुरका प्रिन्सिपल केशव थापालाई ‘शिक्षा आदर्श सुवर्ण सम्मान २०८२’ ले सम्मान गरिएकाे थियाे । २०५६ देखि शान्ति सुधा इङलिस बाेर्डिङ स्कुल घाेराहीकाे प्रिन्सिपलकाे जिम्मेवारीमा रहनुभएका विनय कुमार मिश्रलाई पनि साेही सम्मान प्रदान गरिएकाे थियाे । ‘शिक्षा आदर्श सुवर्ण सम्मान’ प्याब्सन घाेराहीले प्रदान गरेका सम्मानहरुमध्ये सबैभन्दा ठुलाे सम्मान हाे ।
२०५८ बैशाख २१ गतेदिखि निरन्तर लिटिल एञ्जल स्कुल घाेराहीकाे प्रिन्सिपलकाे जिम्मेवारीमा रहनुभएका यादव गिरीलाई भने ‘शिक्षा गाैरव रजत सम्मान २०८२’ ले सम्मान गरिएकाे थियाे। ‘शिक्षा प्रतिबद्धता रत्न सम्मान २०८२’ ले २०६५ देखि निरन्तर प्रिन्सिपलकाे जिम्मेवारीमा रहनुभएका मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुल घाेराहीका प्रिन्सिपल चक्रबहादुर रावत र २०६६ देखि स्वर्गद्वारी इङ्लिस बाेर्डिङ स्कुल नारायणपुरकाे प्रिन्सिपलकाे जिम्मेवारीमा रहनुभएका गिरिराज कँवरलाई सम्मान गरिएकाे थियाे ।
उक्त अवसरमा न्यु ज्ञानकुञ्ज इङ्लिस बाेर्डिङ स्कुल हापुर रतनपुरका प्रिन्सिपल मदनकुमार श्रेष्ठ (वि.सं.२०६९ देखि), श्री पाण्डवेश्वरी इङलिस स्कुल हापुर बडहराका प्रिन्सिपल चित्रबहादुर रावत (वि.सं.२०७० देखि), स्टार इङलिस बाेर्डिङ स्कुल घाेराहीका प्रिन्सिपल चित्रबहादुर घर्ती (वि.सं.२०७१ देखि) लाई ‘शिक्षा समर्पण सम्मान २०८२’ ले सम्मान गरिएकाे थियाे । यसैगरी ज्ञानसिन्धु एजुकेशनल एकेडेमी घाेराहीका प्रिन्सिपल हुकुमबहादुर बुढाथोकी, बालकुञ्ज इङलिस मिडियम स्कुल बञ्जाडीका प्रिन्सिपल साेमराज पाैडेल, मनकामना इङलिस सेकेन्डरी स्कुल चाैघेराका प्रिन्सिपल बालकृष्ण ओली र गाेर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलका प्रिन्सिपल मानसिंह घर्ती (वि.सं.२०७२ देखि) लाई पनि ‘शिक्षा समर्पण सम्मान २०८२’ ले सम्मान गरिएकाे थियाे ।
प्याब्सन घाेराहीकाे तेस्राे नगर अधिवेशनबाट निर्वाचित कार्यसमितिले एक वर्षकाे अवधिमा प्याब्सन घाेराहीमा समाहित गरेका एघार निजी विद्यालयलाई साधारणसभामा प्रशंसा पत्रले स्वागत गरेकाे थियाे ।
साधारणसभामा सचिव विमल भण्डारीले प्याब्सन घाेराहीले एक वर्षकाे अवधिमा गरेका सांगठनिक गतिविधि, अतिरिक्त क्रियाकलाप, सामाजिक गतिविधि तथा भावी याेजनासहितकाे प्रगति प्रतिवेदन तथा काेषाध्यक्ष चित्रबहादुर घर्तीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियाे । साधारणसभाकाे उद्घाटन समाराेहमा एबिसी एकेडेमी घाेराहीका विद्यार्थीहरुले सांगीतिक धुन प्रस्तुत गरेका थिए भने एप्पल एकेडेमी नारायणपुरका विद्यार्थीले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

साधारणसभामा प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले निजी विद्यालयले परम्परागत अध्यापन शैली परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयाे । अहिलेका विद्यार्थीहरु प्रविधिसँग जाेडिएकाले सीपयुक्त शिक्षामा जाेडदिनुपर्ने अधिकारीले बताउनुभयाे । निजी विद्यालयले आफ्नाे भाैतिक संरचना र शैक्षिक गुणस्तरमा सुधार गर्दै अगाडि बढ्नुपर्नेमा अधिकारीले जाेडदिनुभयाे । उहाँले १० प्रतिशत छात्रवृत्तिकाे व्यवस्थालाई निजी विद्यालयले कार्यान्वयन गरि सामुदायिकका विद्यार्थीहरुले पनि निजी विद्यालय खाेज्दै भर्ना हुने वातावरण निर्माण गर्न सञ्चालकहरुलाई आग्रह गर्नुभयाे ।
साधारणसभालाई प्याब्सन केन्द्रीय कमिटीका सहअध्यक्ष गाेपाल प्रसाद आचार्य, पूर्व केन्द्रीय सल्लाहकार नारायण प्रसाद अधिकारी, जिल्ला अध्यक्ष निर्मल न्याैपाने, सामाजिक विकास महाशाखा घाेराहीका प्रमुख रामबहादुर हमाल, प्याब्सन घाेराहीका प्रमुख सल्लाहकार विरेन्द्र चन्दलगायतले सम्बाेधन गर्नुभएकाे थियाे । नगर उपाध्यक्ष मानसिंह घर्तीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण सचिव विमल भण्डारीले गर्नुभएकाे थियाे ।












