घोराही, १० मंसिर ।  नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि दाङबाट जाने प्रतिनिधिहरू सर्वसम्मतरूपमा चयन हुने भएका छन्। आज सम्पन्न विशेष जिल्ला-स्तरीय छलफलले महाधिवेशन प्रतिनिधि छनोटका लागि केन्द्रिय नेतृत्वको समन्वयमा जिल्ला पदाधिकारीहरूलाई जिम्मेवारी प्रदान गरेसँगै प्रतिनिधि चयन प्रक्रिया सर्वसम्मत हुने स्पष्ट भएको हो।

प्रदेश सचिव लक्ष्मण आचार्यका अनुसार महासचिव शंकर पोखरेलको गृहजिल्ला भएकाले दाङबाट सर्वसम्मत प्रतिनिधि जाने विषय विशेष महत्वको मानिएको छ।

जिल्ला अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षता र पोलिटब्युरो सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न छलफलमा करिब ६० जना आकांक्षीहरूले आ–आफ्ना विचार राखेका थिए। ‘सर्वसम्मति नै लोकतन्त्रको उत्कृष्ट विधि हो’ भन्दै अध्यक्ष आचार्यले आकांक्षीहरूकै सहमतिमा सर्वसम्मत प्रक्रियालाई अघि बढाउने म्यान्डेट प्राप्त भएको बताउनुभयाे । उहाँका अनुसार सबैको भावना समेटेर प्रतिनिधि छनोट गरिने र आगामी मंसिर १३ गते नाम सार्वजनिक गरिने छ।

सचिव स्याम डाँगीका अनुसार दाङबाट कुल २२ जना प्रतिनिधि चयन हुनेछन्। जसअन्तर्गत क्षेत्र नं. १ बाट २ खुला, २ महिला, १ युवा गरि जम्मा ५ जना प्रतिनिधि चयन हुनेछन् । यसैगरी, क्षेत्र नं. २ बाट ४ खुला, २ महिला, १ युवा गरि जम्मा ७ जना, क्षेत्र नं. ३ बाट ४ खुला, २ महिला, १ युवा गरि जम्मा ७ जना र मुक्ति समाजका तर्फबाट २ खुला, १ महिला गरि जम्मा ३ प्रतिनिधि चयन हुनेछन् ।

त्यस्तै, उपसचिव भुवनेश्वर पौडेलले सर्वसम्मति प्रक्रियालाई उदाहरणीय निर्णय ठहर गर्दै सबै आकांक्षीप्रति आभार प्रकट गर्नुुभयाे ।

छलफलमा क्षेत्रीय तथा मुक्ति समाजका भेलामा नाम दर्ता गराएका महिला, युवा तथा खुलातर्फका सबैको सहभागिता रहेको थियो। कार्यक्रममा पोलिटब्युरो सदस्य शान्ता चौधरी, केन्द्रिय सदस्य तथा क्षेत्र नं. ३ का इन्चार्ज कोमल वली, केन्द्रिय सदस्य घनश्याम पाण्डे, सिता सिग्देल, साजिदा सिद्दीकी, निर्वाचन आयोगका केन्द्रीय सदस्य हिराचन्द्र केसी, स्थानीय विकास विभागका सदस्य विकिरण गौतम, प्रदेश सचिव लक्ष्मण आचार्य, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख तथा पूर्वअध्यक्ष टिकाराम खड्का, प्रदेश सदस्य तथा निवर्तमान अध्यक्ष हुकुमबहादुर बस्नेतलगायतले मन्तव्य राख्नुभएकाे थियाे ।

कार्यक्रम उपाध्यक्ष मनोहर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सहजीकरण सचिव स्याम डाँगीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस