घोराही, ११ माघ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) घोराही नगर कमिटीले किड्स ओलम्पियाडका लागि पूर्व प्राथमिक तहका संयोजकहरुसँग छलफल गरेकोछ ।
माघ २६ गते बेलझुण्डी रंगशालामा सञ्चालन गरिने प्रथम प्याब्सन घोराही किड्स ओलम्पियाड २०८१ का लागि प्याब्सन घोराहीमा आबद्ध निजी तथा संस्थागत विद्यालयका पूर्व प्राथमिक तहका संयोजकहरुसँग ओलम्पियाड सञ्चालनका विभिन्न विषयमा अन्तर्क्रिया गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेले बालबालिकाहरुको प्रतिभा उजागर गर्ने उत्सवकारुपमा रहेको किड्स ओलम्पियाडलाई सफल बनाउन सबै पक्षले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । निजी विद्यालयले विद्यार्थीहरुलाई कक्षाकोठामा सिमित गर्ने आक्षेपलाई चिर्दै बाल उत्सव सञ्चालनको कार्य सह्रानिय रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष बिरेन्द्र चन्दले विद्यार्थीहरुको क्षमता विकासमा प्याब्सन घोराही संवेदनशील भएर अगाडि बढेकोमा प्रशंसा गर्नुभयो । उहाँले विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि किड्स ओलम्पियाड अभिन्न पाटो रहेको उल्लेख गर्दै संयोजकहरुले सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
प्याब्सन घोराही नगर कमिटी अध्यक्ष बालकृष्ण ओलीको अध्यक्षतामा आयोजित छलफल कार्यक्रममा मारिया मन्टेश्वरी ट्रेनिङ सेन्टरकी सञ्चालिका दिप्ती राना, जनज्योति विद्यामन्दिर घोराहीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश कुमार शर्मा, विभिन्न विद्यालयबाट प्रतिनिधित्व गरेका संयोजकहरुले आ-आफ्ना धारणा राख्नुभएको थियो । प्याब्सन घोराहीका उपाध्यक्ष मानसिंह घर्तिको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन सचिव विमल भण्डारीले गर्नुभएको थियो ।

