घोराही १८ माघ ।
पठन संस्कृतिको निर्माण, हाम्रो अभियान भन्ने मुल नाराका साथ स्थापना भएको अध्ययन मञ्च दाङले शुक्रबार “पुस्तक किन पढ्ने ?” श्रृङखला सुरु गरेको छ । मञ्चले घोराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा शुक्रबार अभियानको पहिलो श्रृङखला सम्पन्न गरेको छ ।
अध्ययन मञ्च दाङका संयोजक सुर्य बिसीको अध्यक्षतामा सञ्चालित कार्यक्रमका प्रशिक्षक थम्मन बस्नेत रहनुभएको थियो । प्रशिक्षक बस्नेतले विद्यार्थीहरुलाई पुस्तक पढ्नुका अनेकन फाइदाका बारेमा प्रशिक्षित गर्नुभएको थियो । बालबालिकालाई अध्ययनका लागि अभिभावकले निश्चित समय, स्थान र उपयुक्त वातावरणको व्यवस्थापन गर्नुपर्ने प्रशिक्षक बस्नेतले बताउनुभयो । प्रशिक्षक बस्नेतले बालबालिकालाई जतिबेला पनि पढपढ भन्ने बोलीले मानसिक तनाब उत्पन्न गराएको उल्लेख गर्नुभयो । उहाँले अध्ययनले बौद्धिक विकासमा ठुलो प्रभाव पार्ने भएकाले आफ्नो रुचि अनुरुप विद्यार्थीहरुलाई विभिन्न विधाका पुस्तकहरु अध्ययन गर्न प्रेरित गर्नुभयो । डिजिटल आतंकबाट बालबालिकालाई जोगाउन पठन संस्कृति अपरिहार्य रहेको उल्लेख गर्दै प्रशिक्षक बस्नेतले विद्यार्थीलाई सचेत रहन आग्रह गर्नुभयो ।
कक्षा पाँच देखि नौंसम्मका विद्यार्थीहरु सहभागी रहेको उक्त कार्यक्रमको सहजीकरण मञ्चका सदस्य महेश बस्नेतले गर्नुभएको थियो ।

