घोराही, २२ माघ । घोराही उपमहानगरपालिका १३ बडहरामा अवस्थित प्रज्ञान एकेडेमीको नवनिर्मित भवन र विद्यालय परिसरमा स्थापित सरस्वती मूर्तिको उद्घाटन समारोह सोमवार भव्यताका साथ सम्पन्न भयो ।

‘तत्व ज्ञान, कर्म ज्ञान र ब्रह्म ज्ञानको संगम, प्रज्ञान एकेडेमी’ भन्ने मुल नाराका साथ स्थापना भएको विद्यालयको आधिकारिकरूपमा भवन र मूर्तिको उद्घाटन घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले गर्नुभएको थियो ।  कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका चौधरीले शिक्षाक्षेत्रमा संस्थागत विद्यालयहरूले निर्वाह गरिरहेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै शिक्षालाई समृद्धिको आधार बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले घोराही उपमहानगरपालिकाले शिक्षालाई उच्च प्राथमिकतामा राखेको बताउँदै यस्ता पहलहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि सामाजिक विकास महाशाखाका प्रमुख नारायण प्रसाद पौडेलले शिक्षाको गुणस्तरीय विकासका लागि सामूहिक प्रयासको आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले प्रज्ञान एकेडेमीले लिएको शैक्षिक उद्धेश्यको  प्रशंसा समेत गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगराज महतको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नम्बर १३ का अध्यक्ष डल्लुराम पोख्रेल, केन्द्रीय प्याब्सनका निवर्तमान सल्लाहकार नारायण प्रसाद अधिकारी, प्राज्ञिक सल्लाहकार अरुण सुवेदीले शुभकामना व्यक्त गर्नुभएको थियो । यसैगरी प्याब्सनका निवर्तमान केन्द्रीय सदस्य जीवन कुमार आचार्य, प्याब्सन लुम्बिनी प्रदेशका निवर्तमान सल्लाहकार महेन्द्र अधिकारी,  शुभेच्छुकहरु दोर्ण चन्द, गेहेन्द्र कँवरलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

विद्यालयका प्रिन्सिपल विरेन्द्र चन्दले नयाँ भवन र सरस्वती मूर्तिको स्थापनाबाट विद्यार्थीहरूको शैक्षिक वातावरणमा सुधार आउने बताउनुभएको छ । उहाँले शिक्षा क्षेत्रमा प्रज्ञान एकेडेमीले नयाँ मानक स्थापना गर्ने उद्घोष गर्दै स्थानीय समुदायको पनि ठुलो सहयोग रहनेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले आफ्ना प्रतिभाहरु प्रस्तुत गरेकाथिए । उक्त कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक राजेन्द्र चन्दले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस