दाङ, ३० जेठ । बालबालिकाको स्वास्थ्य सुरक्षामा देखाएको प्रतिबद्धता र उत्कृष्ट कार्यसम्पादनका आधारमा दाङको लमही नगरपालिकाले राष्ट्रिय स्तरमै गौरव गर्ने अवसर पाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रम (IMNCI) अन्तर्गत उत्कृष्ट पालिकाको रूपमा लमहीलाई प्रमाणपत्रसहित विशेष सम्मान प्रदान गरेको हो।
लुम्बिनी प्रदेशमा सञ्चालन भइरहेको बालरोग एकीकृत व्यवस्थापन कार्यक्रमको मूल्यांकनमा लमहीले उल्लेखनीय प्रदर्शन गर्दै प्रदेशकै नमुना पालिकाको पहिचान पाएको छ। सफल कार्यक्रम कार्यान्वयन, स्रोतको प्रभावकारी परिचालन, स्वास्थ्यकर्मीहरूको सक्रियता, तथा सामुदायिक सहभागितालाई आधार मानेर मन्त्रालयले यो सम्मान प्रदान गरेको हो, लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीले जानकारी दिनुभयो।
नगरप्रमुख चौधरीले भन्नुभयो, “यो सम्मान सम्पूर्ण लमहीवासीको जित हो। बालबालिकाको उज्यालो भविष्यका लागि हामीले गरेका प्रयासहरूको राष्ट्रिय तहमा मान्यता मिल्नु गौरवको विषय हो।”
त्यस्तै, उपप्रमुख लक्ष्मी योगीले भन्नुभयाे, “नगरपालिकाले बालरोग नियन्त्रणका कार्यक्रमलाई गुणस्तरीय रूपमा कार्यान्वयन गर्दै आएको छ। स्वास्थ्यकर्मीहरूको समर्पण, नियमित खोप सेवा, जनचेतनामूलक कार्यक्रम र नागरिकको सहभागिताले आजको यो सफलता सम्भव भएको हो।”
स्वास्थ्य मन्त्रालयले लमहीको प्रयासलाई सराहना गर्दै यो उपलब्धि अन्य पालिकाका लागि पनि प्रेरणादायी भएको बताएको छ। “लमहीको सक्रियता र समर्पण अनुकरणीय छ। यस्तो मेहनत अन्य पालिकाहरूले पनि गर्नु आवश्यक छ,” मन्त्रालयको भनाइ छ।
लमही नगरपालिकाले बालरोग पहिचान तथा उपचार, सामुदायिक स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धि, जनचेतना अभिवृद्धि, पोषण सुधार, नियमित खोप कार्यक्रम र मातृशिशु सेवाको पहुँच विस्तारजस्ता क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ।
नवजात र साना बालबालिकाको नियमित स्वास्थ्य परीक्षण, कुपोषण विरुद्ध सचेतना अभियान, तथा अभिभावकलाई लक्षित स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको नगरपालिकाले यी प्रयासमार्फत आफूलाई देशकै उदाहरणीय पालिकाको रूपमा उभ्याउन सफल भएको हो।
स्वास्थ्य शाखाका प्रमुख नारायण प्रसाद शर्माले स्वास्थ्य मन्त्रालयको सम्मानले लमही नगरपालिकामाथि थप जिम्मेवारी थपिएको बताउँदै भविष्यमा अझ प्रभावकारी र नवीन कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यस सम्मानले लमहीको प्रयासलाई राष्ट्रिय पहिचान मात्रै दिलाएको छैन, अन्य स्थानीय तहहरूका लागि पनि प्रेरणाको स्रोत बनेको छ।












