काठमाडौँ, असार १७ । हाल देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले देशका अधिकांश भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सामान्यभन्दा केही उत्तरतर्फ सरेर पश्चिम नेपाल नजिक पुगेको छ।
आज दिउँसो देशभर सामान्य बदलीको अवस्था रहने अनुमान गरिएको छ। विशेषगरी बागमती, गण्डकी, लुम्बिनी प्रदेश र देशका पहाडी भू–भागका थुप्रै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने पूर्वानुमान गरिएको छ।
त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशको मौसम पूर्ण रूपमा स्थिर रहने देखिँदैन। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहितका पहाडी भू–भागहरूमा सामान्य बदली र अन्यत्र आंशिक बदली रहनेछ। ती क्षेत्रका केही स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्नेछ भने एक–दुई स्थानमा भारी वर्षाको सम्भावना अझै कायम रहेको महाशाखाले चेतावनी दिएको छ।
महाशाखाले सम्भावित बाढी, पहिरो र अन्य प्राकृतिक जोखिमबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।











