दाङ, असार २३। दाङ जिल्लाका विद्यालयमा अध्ययनरत धेरै किशोरीहरूमा रक्तअल्पता (एनेमिया) र तौलसम्बन्धी समस्या देखिएको एक सरकारी अध्ययनले देखाएको छ। जिल्लाका १० वटै स्थानीय तहअन्तर्गतका १८ विद्यालयमा गरिएको स्वास्थ्य परीक्षणमा सहभागी पाँच हजार ७१ मध्ये करिब ५५ प्रतिशत किशोरीमा रक्तअल्पता देखिएको हो।

स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख उज्ज्वल पौडेलका अनुसार परीक्षणमा २७७६ किशोरीमा रक्तअल्पता देखिएको छ। तीमध्ये १६७५ जना सामान्य, १०६६ जना मध्यम, र ३५ जना गम्भीर रक्तअल्पता ग्रसित भेटिएका छन्।

गत वर्षको प्रतिवेदनले किशोरीहरूले सरकारबाट वितरण हुँदै आएको आइरन फोलिक एसिड चक्की नियमित रुपमा नखाएको देखाएको थियो। १३ हप्तासम्म ती चक्की सेवन गर्नेको दर ७२.७ प्रतिशत भए पनि २६ हप्तासम्म सेवन गर्नेको संख्या घटेर ४९ प्रतिशतमा सीमित थियो। यसले कार्यक्रमको प्रभावकारिता न्यून भएको देखिएको स्वास्थ्य कार्यालयको भनाइ छ।

पौडेलका अनुसार, “आइरन चक्की उपलब्ध भएर पनि किशोरीहरूले नियमित रुपमा सेवन नगर्दा रक्तअल्पता हटाउन गरिएको प्रयास असफलजस्तै भएको छ।”

रक्तअल्पता मात्र नभई किशोरीहरूको तौलसम्बन्धी अवस्था पनि चिन्ताजनक देखिएको छ। पाँच हजार ७१ मध्ये उचाइअनुसार सामान्य तौल भएका किशोरीको संख्या मात्र २४२० रहेको छ भने एक हजार ४०१ जना कम तौल, एक हजार १४७ जना अत्यधिक कम तौल, १२४ जना बढी तौल, र २० जना मोटोपनको अवस्थामा भेटिएको कार्यालयले जनाएको छ।

स्वास्थ्यकर्मीहरूका अनुसार, किशोरी अवस्थामा देखिएको रक्तअल्पता र कम तौलको असर भविष्यमा गर्भावस्थामा गम्भीर हुनसक्ने भएकाले तत्काल सचेतना र पोषण सुधार कार्यक्रमलाई प्रभावकारी बनाउनु आवश्यक छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस