दाङ, असार २८ । एन्टिबायोटिक औषधीको अविवेचित प्रयोगले मानवीय स्वास्थ्यमा गम्भीर असर पारिरहेको स्वास्थ्य विज्ञहरूको भनाइ छ। उनीहरूका अनुसार यस विषयमा सर्वसाधारणमा जानकारीको कमी रहेका कारण जनस्तरमै चेतना फैलाउने आवश्यकता छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शुक्रबार घोराहीमा आयोजना गरेको जनचेतनामूलक कार्यक्रममा विभिन्न विशेषज्ञहरूले बोल्दै औषधी प्रयोगसम्बन्धी लापरबाहीले दीर्घकालीन समस्याको रूप लिन सक्ने बताएका थिए।
कार्यक्रममा वक्ताहरूले अनावश्यक रूपमा मेडिकल स्टोरबाट एन्टिबायोटिक औषधी खरिद गरी प्रयोग नगर्न सुझाव दिँदै यस्तो औषधी चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहबिना नखान अनुरोध गरेका छन।
प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले एन्टिबायोटिक औषधीको बृद्धि हुँदै गएको प्रयोगले निकट भविष्यमै यसको प्रभावकारिता घट्ने खतरा रहेको उल्लेख गर्दै प्रत्येक व्यक्ति सचेत रहनुपर्ने बताउनु भयाे । उहाँले एन्टिबायोटिकको अत्यधिक प्रयोगले शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनाउने मात्र नभई, पशुपन्छी र वातावरणसमेत प्रभावित हुने बताउनु भयाे ।
कार्यक्रमको अध्यक्षता फार्माकोलोजी विभाग प्रमुख प्रा. डा. विनय श्रेष्ठले गरेका थिए भने फार्माकोलोजी विभागकै सहायक प्राध्यापक डा. उत्सव चापागाईंले औषधी प्रयोगका सही तरिका र जोखिमबारे विस्तृत जानकारी प्रस्तुत गर्नु भयाे। यस्तै, माइक्रोबायोलोजी विभागका लेक्चरर डा. अभिषेक कर्माचार्यले एन्टिबायोटिकप्रति आमनागरिकमा आवश्यक सतर्कता र जिम्मेवारीको विषयमा प्रकाश पार्नु भयाे।
कार्यक्रमको सुरुवात प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक जनार्दन पन्थीको स्वागत मन्तव्यबाट भएको थियो। फार्मासिस्ट दिलकिरण परियारले कार्यक्रमको सहजीकरण गरेका थिए। कार्यक्रममा प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मी, विद्यार्थी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उल्लेख्य सहभागिता रहेको थियो।












