दाङ, असार ३१ । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रथम सेवा विन्दुबाट हटाइएको सरकारी निर्णय सच्याउन घोराही उपमहानगरपालिकाले स्वास्थ्य बीमा बोर्डलाई आग्रह गरेको छ।
बोर्डको हालैको निर्णयअनुसार प्रतिष्ठानलाई मात्र रेफरल केन्द्रको रूपमा सीमित गरिएको छ, जसले घोराही क्षेत्रका ३७ हजारभन्दा बढी बीमितहरूलाई सेवा प्राप्तिमा असहज बनाएको उपमहानगरपालिकाको ठहर छ। त्यसैले प्रतिष्ठानलाई पुनः घोराही उपमहानगरभित्रका नागरिकका लागि स्वास्थ्य बीमाको प्रारम्भिक सेवा विन्दु बनाइनुपर्ने माग गरिएको हो।
सोमबार उपमहानगरपालिकाले बीमा बोर्डलाई पठाएको पत्रमा अन्य पालिकामा तोकिएका सेवा विन्दुमा गएर उपचार गर्नु व्यवहारिक नभएको उल्लेख गरिएको छ। घोराहीबासीलाई सजिलो र सहज सेवा दिनका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमै सेवा विन्दु कायम गर्न अनुरोध गरिएको हो।
उक्त पत्रमा कार्यवाहक प्रमुख हुमाकुमारी डि.सी.को हस्ताक्षर रहेको छ। उपमहानगरपालिकाको आफ्नै अस्पताल निर्माणको चरणमा रहेकाले तत्कालका लागि प्रतिष्ठान नै उपयुक्त विकल्प भएको भन्दै बीमा बोर्डलाई सो निर्णय पुनरावलोकन गर्न भनिएको हो।












