लमही, साउन ९ । लमही नगरपालिका–९ तेलिया निवासी मृगौला पीडित करमलाल चौधरीलाई आर्थिक सहयोग प्रदान गरिएको छ। लमही नगरपालिका–८ बिजुलीपुर निवासी तथा हाल रोजगारीको सिलसिलामा मलेसियामा रहेका विजय कुमार चौधरीको पहलमा त्यहाँ कार्यरत नेपाली युवाहरूबाट संकलित करिब ४५ हजार रुपैयाँ चौधरीलाई हस्तान्तरण गरिएको हो।
सहयोग रकम लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, वडा नम्बर ५ का सदस्य केशवराज अधिकारी र वडा नम्बर ८ का सदस्य गणेश चौधरीको उपस्थितिमा पीडित चौधरीलाई प्रदान गरिएको हो।
वडा सदस्य गणेश चौधरीका अनुसार, करमलाल चौधरीको दुवै मृगौला काम नगरेपछि उनी लामो समयदेखि नियमित डायलाइसिस गराइरहेका छन्। लमही नगरपालिका–९ को सिफारिसमा उनले लमही सामुदायिक डायलाइसिस केन्द्रमार्फत सेवा लिइरहेका छन्।
उपप्रमुख लक्ष्मी योगीले चौधरीको उपचारका लागि नगरपालिकाबाट सक्दो सहयोग उपलब्ध गराइने बताउँदै लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी थप सहजीकरण गर्ने आश्वासन दिनुभयो।












