दाङ, साउन ११ । राप्ती आयुर्वेद चिकित्सालय, तुलसीपुरमा गत एक वर्षमा ४० हजार ५४ जनाले उपचार सेवा लिएका छन्। उपचार लिने मध्ये महिलाको संख्या पुरुषभन्दा धेरै रहेको चिकित्सालयले जनाएको छ। कुल सेवाग्राहीमध्ये २६ हजार ५०१ जना महिला रहेका छन्।
चिकित्सालयका सूचना अधिकारी डा. कैलाश न्यौपानेका अनुसार, ओपिडी सेवामार्फत २६ हजार ४१० जनाले उपचार लिएका छन्। त्यस्तै, पञ्चकर्म अन्तर्गत कपिङ, फिजियोथेरापी, शिरोधारालगायत ३ हजार ४२६, ल्याब सेवा १ हजार ७२६, जेष्ठ नागरिक सेवा १ हजार २३२, योग सेवा ९१९, स्तनपायी सेवा १३१ र नागरिक आरोग्य सेवामार्फत ६ हजार २१० जनाले सेवा पाएका छन्।
डा. न्यौपानेका अनुसार, अस्पतालमा विशेषगरी नसर्ने रोगका बिरामीका लागि निःशुल्क औषधि वितरण, सुत्केरी महिलालाई दुग्धवर्धक औषधि उपलब्ध गराउने, र जेष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुँदै आएका छन्।
राप्ती आयुर्वेद चिकित्सालयका प्रमुख डा. मदन कुमार विसीले पछिल्लो समय नागरिकको आयुर्वेदप्रति विश्वास बढ्दै गएको बताउनु भयाे । उहाँका अनुसार, पहिले धुलो औषधिको नाममा अविश्वास भए पनि अहिले दीर्घरोगी, जेष्ठ नागरिक, ग्यास्ट्रिक लगायतका समस्या भएका बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ।
डा. विसीले सेवाको पहुँच र प्रभावकारिता बढाउनका लागि आवश्यक बजेट व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेका छन्। साथै, घर-आँगनमै सेवा पुर्याउन र थप सेवा विस्तारका लागि पहल भइरहेको उहाँको भनाइ छ।












