काभ्रे, साउन २७ – पनौती नगरपालिका–१ र्यालेका ९२ वर्षीय हरिप्रसाद सापकोटाको आइतबार निधन भएको छ। कम्युनिस्ट पार्टी स्थापना र क्रान्तिकारीहरूलाई आश्रय दिने योगदानका लागि परिचित सापकोटाले आफ्ना पाँच छोरी—सुन्तली, कमला, बिमला, निर्मला र राधिकालाई निडर, शिक्षित र अन्यायसँग जुध्न सक्ने बनाएका थिए।
सानै उमेरमा आमा गुमाएका यी छोरीहरूलाई बुबाले जीवनभर विभेद र अन्यायको सामना गर्न सिकाए। निधनअघि उनले आफ्नै छोरीहरूले दागबत्ती दिई काजकिरिया गरून् भन्ने इच्छा प्रकट गरेका थिए। तर, सामाजिक परम्पराको नाममा केही स्थानीयले यो चाहना पूरा हुन नदिने प्रयास गरे। बिरामी भएकाले दुई छोरी—सुन्तली र कमला—काजकिरियामा सहभागी हुन सकेनन् भने बिमला, निर्मला र राधिकाले समाजको विरोधका बीच बुबाको संस्कारमा हात लगाए।
स्थानीयले छोरीले काजकिरिया बस्नु नहुने भन्दै बैठकसमेत आयोजना गरी विरोध जनाए। बनेपा नगरपालिकाकी उपप्रमुखसमेत रहेकी बिमला सापकोटाका अनुसार, समाजले बहिष्कारसम्मको धम्की दिएको थियो। उनले सामाजिक सञ्जालमार्फत पीडा पोख्दै, “हामी अरूको वंशमा हस्तक्षेप गरेका छैनौं, अब थप पीडा सहन सक्दैनौं,” भन्दै बैठक र बहस तुरुन्त रोक्न आग्रह गरिन्।
बुबाको उत्तराद्र्ध जीवनमा पालनपोषणदेखि उपचारसम्मको जिम्मा छोरीहरू र ज्वाईंहरूले नै सम्हालेका थिए। तर मृत्युपछि समाजले संस्कारमा सहभागी हुनबाट वञ्चित गर्न खोज्यो। सामाजिक अभियन्ता समेत रहेका यी छोरीहरूले धम्कीलाई बेवास्ता गर्दै बुबाको काजकिरिया अघि बढाए। यस कदमलाई सयौं सामाजिक सञ्जाल प्रयोगकर्ताले समर्थन र प्रोत्साहन जनाए।
अधिवक्तासमेत रहेकी बिमलाले चेतावनी दिँदै भनिन्, “तपाईंहरूले गरेको बहस कानुन र संविधानविरुद्ध छ। हाम्रो कदम हजारौं छोरीका पक्षमा न्याय हुनेछ। १३ दिनसम्म बुबाको घरमा बसेर काजकिरिया गर्न दिनुहोस्, त्यसपछि हामी सधैंका लागि माइतीको ढोका बन्द गरेर आफ्नो कर्मघर फर्किनेछौं।”












