घाेराही, साउन ३१ । घोराही उपमहानगरपालिका–५, धारापानीमा एक महिना चलिरहेको शिवपुराण तथा श्रृङ्गारिक महाआरती (आज) शनिबार समापन भएको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारी को अध्यक्षतामा तथा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी को प्रमुख आतिथ्यतामा महाआरतीको समापन कार्यक्रम सम्पन्न भएको हो।

समापन समारोहमा नगर प्रमुख चौधरीले पाण्डबेश्वर मन्दिर धारापानीलाई पर्यटन र आर्थिक विकासको महत्वपूर्ण आधार भएको बताउनु भयाे। उहाँले मन्दिरसम्म जाने सडकलाई पर्यटन मार्ग नाम दिइएको र हाल सडकको स्तरउन्नति कार्य जारी रहेको जानकारी दिनुभयो। छिट्टै मन्दिरसम्मको सडक थप व्यवस्थित हुने उहाँले उल्लेख गर्नुभयो।

धारापानीको प्रसिद्ध धार्मिक स्थल पाण्डबेश्वर महादेव मन्दिर मा महाआरतीका क्रममा विभिन्न कार्यक्रमहरू सञ्चालन भएका थिए। बिहान ४ बजेदेखि ७ बजेसम्म नित्य पूजा, ७ बजेदेखि १० बजेसम्म विशेष पूजा, ११ बजेदेखि ४ बजेसम्म प्रवचनलोकभजन प्रतियोगिता, बेलुकी ७ बजेदेखि ८ बजेसम्म नित्य आरती, ८ बजेदेखि ९ बजेसम्म श्रृङ्गारिक आरती र राति ९ बजेदेखि साढे १० बजे सम्म प्रवचन र झाँकी प्रस्तुति गरिएकाे थियाे।

त्यसैगरी, जिल्ला स्तरीय लोकभजन प्रतियोगिता, दैनिक १०८ वरपिपलमा जलअभिषेक, करोड दीप प्रज्वलन लगायतका धार्मिक कार्यक्रमहरू समेत सञ्चालन गरिएका थिए।

महाआरतीको क्रममा रूद्राभिषेक, लघुरूदि, लक्ष्यवर्तिका, चारासी पूजा, जन्मदिन, गृहपूजा, नागपूजा, ब्राह्मण भोजन, प्रसाद वितरण, ब्रतबन्ध, चूड़ाकर्म लगायतका धार्मिक कार्यक्रमहरू पनि सम्पन्न भएका छन्।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस