दाङ, भदौ ६ । गुरुकुल एकेडेमी तुलसिपुरमा आयोजित तिज मिलन कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। प्रत्येक वर्ष की महिलाबीच आपसी सम्बन्ध सुदृढ पार्ने, संस्कृतिको संरक्षण गर्ने र तिज पर्वलाई भव्यताका साथ मनाउने उद्देश्यका साथ विद्यालयले यस वर्ष पनि अभिभावक लक्षित तिज मिलनको आयोजना गरेको हो।
कार्यक्रममा लोकगायिका विष्णु सुनारले विशेष प्रस्तुति दिएका थिए। उनका तिज गीतले उपस्थित सबै अभिभावकलाई मन्त्रमुग्ध पार्दै छमछमि नाच्न प्रेरित गर्यो। त्यस्तै, घोराही र लमहीका लोकप्रिय गायिकाद्वय सिमरण परीयार र रेखा पोख्रेलले पनि आफ्ना गीतमार्फत कार्यक्रमको माहोल झनै रमाइलो बनाएका थिए। उनीहरूको स्वरमा प्रस्तुत तिज गीत सुन्दा शिक्षक–शिक्षिका, विद्यार्थी र अभिभावक सबैले रमाइलो अनुभव गरे।
सांस्कृतिक पहिरनमा सजिएका महिला दिदी–बहिनीहरूले नाचगानमा सक्रिय सहभागिता जनाउँदै हरितालिका तिजको अवसरलाई जीवन्त बनाउने महत्वपूर्ण भूमिका निभाएका थिए। कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले परम्परागत पर्वलाई संस्थागत रूपमै संरक्षण गर्दै आएको प्रयास सराहनीय रहेको प्रतिक्रिया दिएका थिए।
गुरुकुल एकेडेमीले तिज पर्वलाई खुशी, सौहार्द र एकताको प्रतीकका रूपमा लिँदै, विद्यार्थी मात्र नभई अभिभावकसँग सम्बन्ध घनिष्ठ बनाउन समेत यस कार्यक्रमलाई अघि बढाएको जनाएको छ। गीत, नृत्य, रमाइलो र पारिवारिक भेटघाटसहित सम्पन्न कार्यक्रममा सहभागी सबैले तिजको उल्लासमा झुम्दै रमाइलो गरेका थिए।
यसरी आयोजित तिज मिलनले सांस्कृतिक संरक्षणसँगै सामुदायिक एकता र सहकार्यलाई पनि अझ मजबुत बनाएको अनुभव गरिएको छ। कार्यक्रमको समापनसँगै विद्यालयले दर खाने कार्यक्रम समेत आयोजना गरेको थियो।












