घोराही, भदाै ७ । तीज पर्व नजिकिँदै गर्दा घोराहीका डेरीहरूले बिक्री गरिरहेको दूध पातलो भएको पाइएको छ। घोराही उपमहानगरपालिकाले बिहीबार र शुक्रबार १६ वटा डेरीबाट संकलन गरेको दूधको परीक्षण गर्दा अत्यधिक मात्रामा पानी मिसाइएको खुलासा भएको हो।

उपभोक्ता हित संरक्षण शाखा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले अनुगमन गरी संकलन गरेका नमूना विश्लेषणमा दूधमा पानीको मात्रा बढी पाइएका छन्। साथै, चिल्लो पदार्थ र ठोस पदार्थको मात्रा कम भएको पनि देखिएको छ। केही नमूना परीक्षणमा दूध फाटेको फेला परेको भए पनि स्टार्च सबैमा नेगेटिभ आएको छ भने चिनी, सोडा र फर्मालिनको मिसावट भने नदेखिएको सहायक केमिस्ट गणेश रेग्मीले जानकारी दिनुभयो।

रेग्मीका अनुसार समीक्षा डेरी उद्योगको नमूनामा आवश्यक ८ प्रतिशत एसएनएफ हुनुपर्नेमा ६.७ प्रतिशत मात्र पाइएको छ भने करिब २७ प्रतिशत पानी मिसावट भेटिएको छ। यस्तै, बस्नेत किराना एण्ड डेरी पसलमा ३३.५ प्रतिशत, पाण्डे डेरी एण्ड किरानामा ३६.८ प्रतिशत, आचार्य डेरी उद्योगमा ३८.१ प्रतिशत र ऋचा डेरी उद्योगमा ३४.१ प्रतिशत पानी मिसिएको पाइएको छ। अन्य डेरीहरूमा पनि करिब १५ देखि ३३ प्रतिशतसम्म पानी मिसावट भेटिएको प्रतिवेदनमा उल्लेख छ।

शुक्रबार संकलन गरिएका नमूनामध्ये ग्लोबल डेरी बुटवलमा १५.५ प्रतिशत, दूध सागरमा २०.३ प्रतिशत, लमही डेरी उद्योगमा २९.३ प्रतिशत, रिजाल डेरीमा २७ प्रतिशत, हिमालय डेरीमा ३१.४ प्रतिशत, लक्ष्मी डेरीमा १९.९ प्रतिशत र साधना डेरीमा ३१ प्रतिशतसम्म पानी मिसावट देखिएको छ।

नगरपालिकाले यस वर्ष परीक्षणका आधारमा मात्र सीमित नराखी कारवाही समेत गर्ने तयारी गरेको छ। उपभोक्ता हित संरक्षण शाखाका प्रमुख मोहनसिंह सुनारका अनुसार नमुनामा कैफियत देखिए कानुनअनुसार कारवाही गर्ने गरी संकलन गरिएको हो। “गत वर्षजस्तो परीक्षण गरेर छाडिँदैन, यसपटक नतिजाका आधारमा कारवाही गरिनेछ,” उहाँले बताउनुभयो।

उत्पादन कम, खपत दोब्बर

डेरी व्यवसायी संघ दाङका अध्यक्ष मनबहादुर बुढाथोकीले चाडपर्वका कारण दूधको खपत दोब्बर बढ्दा बजारमा दूध पातलो भएको बताउनुभयो। उहाँका अनुसार किसानहरूले आपूर्ति गर्ने दूध पनि सामान्यभन्दा पातलो आएको छ।

“उत्पादन केही कम भए पनि खपत दोब्बर बढेको छ, अहिले सबै डेरीमा यही समस्या देखिएको छ,” बुढाथोकीले भन्नुभयो। संघका अनुसार जिल्लाभर करिब दुई सय डेरी रहेका छन् र दैनिक ६० हजार लिटरभन्दा बढी दूध उपभोग हुन्छ।

हाल जिल्लामा माग धान्न नसक्ने भएकाले बाहिरका डेरीहरू (जस्तै डिडिसी र ग्लोबल) बाट पनि दूध ल्याइँदैछ। “सामान्य अवस्थामा जिल्लाबाट दूध बाहिर जाने भए पनि अहिले भने आपूर्ति नै अपुग भएको छ,” अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस