घाेराही, भदौ ८। दाङको राजपुर गाउँपालिका–५, जंग्रहवामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । यसपछि स्थानीयवासीले आँखा उपचारका लागि टाढासम्म धाउनुपर्ने बाध्यता हटेर वडाबाटै सेवा लिन सक्ने भएका छन्।

नेपाल नेत्रज्योति संघ अन्तर्गत आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज लमही आँखा अस्पतालको व्यवस्थापन र राजपुर गाउँपालिकाको सहकार्यमा एकीकृत आँखा उपचार केन्द्र सञ्चालनमा आएको हो।

वडा नं. ५ का अध्यक्ष टंकबहादुर विष्टको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकी, उपाध्यक्ष धनपती यादव र नेपाल नेत्रज्योति संघ दाङका उपाध्यक्ष रेशमबहादुर खड्काले संयुक्त रूपमा उपचार केन्द्रको शुभारम्भ गरेका थिए। कार्यक्रममा बोल्ने वक्ताहरूले अबदेखि स्थानीयले बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक आँखा उपचार सेवा पाउने जानकारी दिए। साथै एनएभीपी नर्वेको सहयोगमा निःशुल्क आँखा शिविर समेत सञ्चालन गरिएको हो।

यस्तै, विजयनगर गाउँपालिका–६, बगद्वौरस्थित आधारभूत स्वास्थ्य अस्पतालमा पनि साप्ताहिक आँखा उपचार क्लिनिक सुरु गरिएको छ। छन्द (कालेबाबु) नारायणी अस्पतालको प्राविधिक सहयोग र विजयनगर गाउँपालिकाको आर्थिक सहयोगमा सुरु गरिएको सो क्लिनिकको उद्घाटन विजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङ शाखाका सचिव घनश्याम सुवेदी प्रमुख अतिथि, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा. शम्सेर थापा विशेष अतिथि तथा अन्य जनप्रतिनिधिहरूको उपस्थितिमा उद्घाटन गरिएको थियो।

उक्त अवसरमा उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी, वडा नं. ६ का अध्यक्ष प्रेमबहादुर कलवार लगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा सहजीकरण स्वास्थ्य शाखा प्रमुख वाइपी पौडेलले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस