भरत वली
रोल्पा, भदाै ८ । रोल्पा उद्योग वाणिज्य संघले आफ्नो २१औं वार्षिक साधारणसभा तथा ९औं अधिवेशनअन्तर्गत हुने निर्वाचन कार्यक्रम तालिका सार्वजनिक गरेको छ।
संघका अनुसार आगामी २०८२ भदौ ८ गते बिहान १०:०० बजे मतदाताको नामावली प्रकाशन गरिएको छ। नामावलीमा त्रुटि वा छुट भएमा सो सम्बन्धी दाबी–विरोध भदौ ९ गते बेलुकी ५:०० बजेसम्म दर्ता गर्न सकिनेछ। अन्तिम नामावली भने भदौ १३ गते बिहान ११:०० बजे सार्वजनिक गरिनेछ।
यस्तै, उम्मेदवार मनोनयन पत्र दर्ता भदौ १४ गते बिहान १०:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म हुने छ। सोही दिन बेलुकी ६:०० बजेसम्म मनोनयन सूची प्रकाशन गरिने संघले जनाएको छ। मनोनयनमा परेको दाबी–विरोध भदौ १५ गते बिहान १०:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म गर्न सकिनेछ। त्यसपश्चातको प्रक्रिया पूरा गरी उम्मेदवारको नामावली भदौ १६ गते बिहान १०:०० बजेसम्म प्रकाशित गरिने छ।
उम्मेदवारले नाम फिर्ता लिन सक्ने समय भदौ १६ गते बिहान ११:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म तोकिएको छ भने अन्तिम उम्मेदवार नामावली भदौ १७ गते बिहान ११:०० बजेसम्म सार्वजनिक गरिनेछ।
विरोध भएका पदमा मतदान भदौ २१ गते बिहान ८:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म हुनेछ। मतदान सकिएलगत्तै मतगणना सुरु हुने र सोही दिन परिणाम सार्वजनिक गरिने निर्वाचन संयोजक तुल्सीराम जीसीले उल्लेख गर्नु भएकाे छ।
संघले अधिवेशनमा सहभागी हुने मतदाताको नामावली पहिले नै प्रकाशित गरिसकेको छ। नामावलीमा नाम छुटेको भएमा भदौ १३ गते बिहान ११:०० बजेभित्र संघको कार्यालयमा सम्पर्क गर्न वा फोन नम्बर ०८६–४४०१६६ मा जानकारी दिन आग्रह गरिएको छ।
यस्तै, मतदान गर्न आउने व्यक्तिले अनिवार्य रूपमा रोल्पा उद्योग वाणिज्य संघको दर्ता प्रमाणपत्र, नेपाली नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र साथमा ल्याउनुपर्ने संघले स्पष्ट पारेको छ।













