दाङ, भदौ ९ । दाङको देउखुरीमा आइतबार राति भएको ट्याक्टर–अटो दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।
गढवा गाउँपालिका–३, धैरेनीमा राति करिब ८ बजेतिर विपरीत दिशाबाट आइरहेको ट्याक्टरले रा १ ह ५९२३ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार सोही गाउँपालिकाका ५५ वर्षीय बलबहादुर थापा गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि तत्काल राप्ती आधारभूत अस्पताल सिसहनियाँ पुर्याइएको भए पनि राति ९:१० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिए ।
दुर्घटनामा अटो चालक ३८ वर्षीय लेकबहादुर रोका र ४२ वर्षीय अम्मरबहादुर नगरकोटी गम्भीर घाइते भएका छन् । दुवैलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्याक्टरको नम्बर खुलेको छैन भने चालक फरार रहेका कारण खोजी कार्य भइरहेको प्रहरी निरीक्षक बमले बताए । मृतक थापाको शवलाई पोस्टमार्टमका लागि लमही अस्पताल लगिएको छ ।












