तुलसीपुर, भदौ १७ । तुलसीपुर उपमहानगरपालिकालाई आगामी भदौ २८ गते सडक आश्रित मानवमुक्त नगरका रूपमा घोषणा गरिने भएको छ।
उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले घोषणा समारोहलाई सफल बनाउन सबै सरोकारवालाको साथ–सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले आइतबार सरोकारवालासँगको छलफलमा, पालिका स्थापना दिवसकै अवसर पारेर सडक आश्रित मानवमुक्त घोषणा गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।
कार्यक्रमका संयोजक एवम् सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतका अनुसार घोषणा समारोहमा १९ वटै वडाबाट पाँच हजारभन्दा बढीको उपस्थिति रहनेछ।
मानव सेवा आश्रमका परिकल्पनाकार रामजी अधिकारीले नेपाललाई २०८२ भित्रै सडक आश्रित मानवमुक्त घोषणा गर्ने राष्ट्रिय अभियानअन्तर्गत तुलसीपुर उपमहानगरपालिका घोषणा गरिन लागेको जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म देशभरका २१ जिल्लामा २७ वटा सेवा केन्द्रमार्फत सहयोगापेक्षी सडक आश्रित मानवको संरक्षण भइरहेको छ।
दाङमा मात्रै दुई सय ६४ जना उद्धार भइसकेको र एक सय २६ जना परिवारसँग पुनर्मिलन भएको पनि अधिकारीले बताए। तुलसीपुरस्थित मानव सेवा आश्रममा हाल ६६ जना आश्रित रहेको छ।
उहाँले घोषणा कार्यक्रमपश्चात सडकमा कोही भेटिए पाँच घण्टाभित्र उद्धार गरिने प्रतिबद्धता व्यक्त गर्दै, प्रत्येक परिवारले आफ्नो जिम्मेवारी पूरा गरे सडकमा मानिस बस्नुपर्ने अवस्था नआउने धारणा राख्नुभयो।
महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले अहिले सडकमा आश्रित मानिसहरूको उद्धार, सरोकारवालासँग छलफल र समन्वयको काम भइरहेको बताउनुभयो। सरोकारवालाले घोषणापछि पनि उद्धार अभियान निरन्तर चलाइराख्नुपर्ने सुझाव दिएका छन्।
घोषणा कार्यक्रमबारे छलफलमा तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारी र नेपाल पत्रकार महासंघ दाङका निवर्तमान सहसचिव दीप्तिशिखा चौधरीलगायतले अभियानलाई सफल बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए












