तुलसीपुर, ६ असाेज । मानिस र सर्पबीचको द्वन्द्व न्यूनिकरण तथा सर्प संरक्षण गर्ने उद्देश्यले गत कात्तिक ८, ९ र १० गते तुलसीपुर–७ राप्ती शान्ति उद्यानमा सर्प महोत्सव सम्पन्न गरिएको थियो । देशभरका सर्पविज्ञ र उद्धारकर्ताको उपस्थितिमा तीन दिनसम्म सर्पबारे सचेतना दिँदै घरभित्र वा वरपर सर्प देखिएमा मार्न नहुने र उद्धारकर्ताको सहायतामा सुरक्षित स्थानमा पु¥याउनुपर्ने सन्देश प्रसार गरिएको थियो । तर अहिले तुलसीपुर क्षेत्रमा सर्प घरभित्र पसे पनि उद्धार सेवा तत्काल उपलब्ध नभएकाले मानिस र सर्पबीचको द्वन्द्व बढ्ने अवस्था सिर्जना भएको छ ।
शनिबार राति तुलसीपुर–६ इन्द्रनगरका बसन्त गिरीको घरमा सर्प पस्दा उद्धारकर्ताको खोजी गरिए पनि नपाएपछि उनले कोठा बन्द गरेर राखे । आइतबार बिहानसम्म उद्धारकर्ता नपाएपछि उनले आफैं जोखिम मोलेर सर्प बाहिर निकाले । गिरीका अनुसार पहिले तुलसीपुरमा नियमित रूपमा सर्प उद्धार गर्ने व्यक्ति अहिले बाहिर भएकाले सेवा पाउन मुस्किल भएको छ । “नगर प्रहरीलाई खबर गर्दा सामग्री नभएकोले उद्धार गर्न सक्दैनौं भने,” गिरीले भने, “मैले सर्प नमारेर भगाउनेतर्फ लागें तर स्थानीय सरकार र सरोकारवालाले यस्ता घटनामा ध्यान दिनुपर्छ ।”
विगतमा सर्प सचेतना र उद्धार गर्दै आएका प्रभात भण्डारी वैदेशिक रोजगारीमा गएपछि पालिकाले वन कार्यालयको सहयोगमा पाँच जना नगर प्रहरीलाई प्रशिक्षण दिएर उद्धारमा खटाउँदै आएको थियो । तर भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा उद्धारका सामग्री जलेर नष्ट भएपछि हाल नगर प्रहरी उद्धार गर्न नसक्ने अवस्थामा छ । “नगर प्रहरीको टिम पूर्ण रूपमा पोख्त त छैन तर पनि खबर आएका ठाउँमा पुगेर सर्पलाई सुरक्षित ठाउँमा लैजाने काम गर्दै आएका थियौं,” नगर प्रहरीका सई ऋषि पछाईंले बताए, “सामग्री भए पुनः सेवा सुरु गर्छौं ।”
तुलसीपुर उपमहानगरपालिका विपत् व्यवस्थापन शाखा प्रमुख टोपबहादुर डाँगीले आन्दोलनका कारण विपत् व्यवस्थापनका उपकरणहरू नष्ट हुँदा समस्या देखिएको स्विकार गर्दै छिट्टै नयाँ सामग्री खरिद गरी सेवा प्रवाह गर्ने बताए । “स्थानीय सरकारले नै सर्प उद्धार गर्ने हो,” उनले भने, “अत्यावश्यक वस्तु खरिदलाई प्राथमिकतामा राखेका छौं, छिट्टै सेवा सुचारु हुन्छ ।”
विगत चार वर्षदेखि सर्प उद्धारमा सक्रिय कुलदीप न्यौपानेका अनुसार जिल्लामा उद्धारकर्ताको संख्या नै कम छ, भएकाहरू पनि सबै ठाउँमा पुग्न सक्ने अवस्था छैन । “सर्प घरभित्र पसेको र उद्धारकर्ता नपाइने अवस्थामा गमबुट र लामो पञ्जा लगाएर लामो लठ्ठीको प्रयोग गरी सुरक्षित स्थानतिर भगाउनुपर्छ,” उनले सुझाव दिए, “तर सर्पलाई मार्नु हुँदैन ।” विषालु वा अविषालु भनेर पहिचान गर्न सक्दा उद्धार सजिलो हुने भएकाले सर्पबारे सामान्य जानकारी लिन स्थानीय युवाहरूलाई उनले आग्रह गरे ।












