निता चौधरी
तुलसीपुर, ७ असोज । जेन–जी आन्दोलनपछिको प्रतिकूल परिस्थितिले दाङको तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित अल्पकालीन उपमेयर सुरक्षित आवास गृह (सेफ हाउस) पनि प्रभावित भएको छ । गत भदौ महिनाको अन्तिम सातादेखि सेफ हाउसको सेवा स्थगित गरिएको छ । आन्दोलनका क्रममा उपमहानगरपालिकाको कार्यालयमा आगलागी भई संरचना ध्वस्त हुँदा बजेट व्यवस्थापनमा समस्या देखिएपछि हाललाई सेफ हाउस बन्द गर्नुपरेको हो ।
महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठका अनुसार बजेट व्यवस्थापनबारे स्पष्टता नआएपछि सेफ हाउस अस्थायी रूपमा रोकिएको हो । “उपमहानगरपालिकाका कर्मचारीले कहाँबाट सेवा दिने भन्ने निर्णय नै भएको छैन । महिलाका लागि अत्यावश्यक भए पनि बजेट सुनिश्चित हुन नसकेकाले सेवा स्थगित छ,” उनले बताइन् । आन्दोलनपछि पनि केही महिलाले सेफ हाउसमा आश्रय मागेको सूचना आए पनि सेवा रोकिएका कारण राख्न नसकिएको उनले बताइन् ।
सेफ हाउसकी कर्मचारी डिला केसीले हिंसामा परेका महिलालाई सेवा दिने आवास गृह केही दिन मात्रै बन्द हुँदा पनि ‘अब बन्द भयो र ?’ भनेर सोध्नेहरु बढेको बताइन् । उनका अनुसार भदौको दोस्रो साता सम्म पीडित महिलालाई सेवा दिइएर परिवारको जिम्मा लगाइएका थिए । तर भदौ २४ गतेको जेन–जी आन्दोलनपछि उपमहानगरपालिकाले सेवा स्थगित गरिएको मौखिक जानकारी दिएपछि सेवा रोकिएको हो ।
६ वर्षमा १६० महिलालाई सेवा
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको सेफ हाउसबाट आर्थिक वर्ष २०७६/०७७ देखि २०८१/०८२ सम्म १६० महिलाले सेवा लिएका छन् । यस्तै २९ बालबालिकाले समेत आश्रय पाएका छन् । घरेलु हिंसा, यौनजन्य हिंसा, सामाजिक हिंसा लगायतका विभिन्न घटनाबाट प्रभावितलाई आवास, स्वास्थ्य उपचार, कानुनी सल्लाह, मनोपरामर्श, पारिवारिक पुनर्मिलन र आयआर्जनका कार्यक्रमसमेत उपलब्ध गराइएको थियो ।
बजेट र सेवामा समस्या
सेफ हाउस सञ्चालनका लागि उपमहानगरपालिकाले हरेक वर्ष बजेट छुट्याउँदै आएको छ । तर हाल उपमहानगरपालिकाको कार्यालयमा आगलागी हुँदा बजेट र व्यवस्थापन दुवैमा समस्या सिर्जना भएको छ । माया श्रेष्ठका अनुसार बजेट सुनिश्चित भएमा पुनः सेवा सुरु गर्न सकिनेछ ।
बसाइँ र कानुनी प्रक्रिया
पीडित महिलाले एक पटकमा ४५ दिनसम्म आश्रय पाउने व्यवस्था थियो । सो अवधिमा कानुनी प्रक्रिया वा पारिवारिक पुनर्स्थापना नसके थप १५ दिन न्यायिक समितिको निर्णयमा राख्न सकिन्थ्यो । बालबालिका र सहयोगीसँग आएका पीडितलाई पनि आवश्यक सुविधा प्रदान गर्ने व्यवस्था थियो ।
स्थापना र कानुनी आधार
तुलसीपुरमा अल्पकालीन उपमेयर सुरक्षित आवास गृह २०७७ जेठ २३ गते सिर्जना महिला बचत तथा ऋण सहकारी संस्थासँगको साझेदारीमा सुरु गरिएको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४, घरेलु हिंसा कसूर तथा सजाय ऐन २०६६ लगायतका कानुनअनुसार महिलामाथि हुने हिंसा न्यूनिकरणका लागि यस्तो आवास गृह सञ्चालनमा ल्याइएको हो ।
सरोकारवालाको चिन्ता
हिंसापीडित महिलाका लागि विगतमा प्रभावकारी रूपमा सेवा दिँदै आएको सेफ हाउस बन्द हुँदा भविष्यमा महिला सुरक्षामा चुनौती थपिने सरोकारवालाले बताएका छन् । हिंसाको घटनामा कमी ल्याउने प्रयास भइरहे पनि पूर्ण अन्त्य हुन नसकेको तथ्याङ्कले देखाउँछ । सेवा पुनः सुरु गर्नका लागि बजेट र व्यवस्थापनमा तत्काल पहल आवश्यक रहेको उनीहरूको भनाइ छ ।












