दाङ, ७ असाेज । लमही अस्पतालमा अत्याधुनिक ल्याब सेवा मंगलबार औपचारिक रूपमा सुरु गरिएको छ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले सेवाको उद्घाटन गर्दै बिरामीको अवस्थालाई ध्यानमा राखी गुणस्तरीय तथा व्यवस्थित स्वास्थ्य सेवा आवश्यक भएकाले आधुनिक ल्याब स्थापना गरिएको बताउनु भयाे । उहाँले नगरवासीलाई सस्तो र भरपर्दो उपचार उपलब्ध गराउने नगरपालिकाको प्रयास निरन्तर रहने उल्लेख गर्नुभयाे ।

कार्यक्रममा उपप्रमुख लक्ष्मी योगीले अब बिरामीहरूलाई बाहिरी संस्थामा महँगो शुल्क तिरेर परीक्षण गराउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्नुभयाे । उहाँका अनुसार अस्पतालमै सर्वसुलभ शुल्कमा सेवा पाउने भएकाले स्वास्थ्य उपचार सहज र प्रभावकारी बन्नेछ । उहाँले स्वास्थ्य क्षेत्रमा थप कार्यक्रम ल्याउने तयारी भइरहेको पनि बताउनु भयाे ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले लमही अस्पतालमा सुरु गरिएको ल्याब सेवा जिल्लामै आदर्श बन्ने दाबी गर्दै, यसबाट स्थानीयले भरपर्दो स्वास्थ्य सुविधा पाउने विश्वास व्यक्त गर्नुभयाे ।

त्यस्तै, वडा नं.–४ का अध्यक्ष सुवास न्यौपानेले अस्पतालको सेवा क्रमशः सुधारोन्मुख रहेको उल्लेख गर्दै बिरामीको चाप बढेकाले भौतिक पूर्वाधार विस्तारमा नगरपालिकाले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयाे । अस्पताल व्यवस्थापन समितिका सदस्य अजय न्यौपानेले पनि सेवाप्रति स्थानीयको विश्वास बढ्दै गएको भन्दै आगामी दिनमा अझ प्रभावकारी सेवा सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनु भयाे ।

थाइराइड रोग पहिचानका लागि लमही अस्पतालले ‘लुमिनोमेट्रिक इम्युनोएस्से (CLIA)’ प्रविधि भित्र्याएको छ । यसबाट देउखुरी क्षेत्रमा रहेका बिरामीलाई बाहिर गएर परीक्षण गर्नुपर्ने बाध्यता हट्नेछ । ल्याब टेक्निसियन निरीक्षक शंकर भण्डारीका अनुसार हाल थाइराइड परीक्षण सुरु गरिएको छ भने आवश्यक रासायनिक सामग्री आएपछि क्यान्सर मार्कर, कार्डिएक मार्कर, भिटामिन डि, भिटामिन बी–१२, सिआरपी, एलडिएच तथा अटो इम्युनो डिजिजसम्बन्धी परीक्षण पनि सम्भव हुनेछ ।

अस्पतालका अनुसार उक्त प्रविधिबाट एकै पटकमा १५ प्रकारका फरक परीक्षण र १ सय ४४ जना बिरामीको परीक्षण गर्न सकिने सुविधा छ । यसले स्वास्थ्य उपचारमा सहजता ल्याउने र समय बचत गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस