काठमाडौं, ७ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मुलुकभरका सामुदायिक विद्यालयमा प्रत्येक विद्यालयका लागि अनिवार्य रूपमा एकजना कम्प्युटर शिक्षकको दरबन्दी व्यवस्था गर्न निर्देशन दिएका छन् । मंगलबार मन्त्रालयमा उनले तत्काल कार्यान्वयन गर्नुपर्ने तीन निर्देशन जारी गर्दै यो प्रमुख निर्णय सार्वजनिक गरेका हुन् ।
मन्त्री पुनका अनुसार विद्यार्थीलाई कम्प्युटर शिक्षा नबञ्चिन दिने उद्देश्यले यो व्यवस्था गर्न लागिएको हो । उनले भने, “सामुदायिक विद्यालयमा अब कम्प्युटर शिक्षा अनिवार्य हुनेछ, त्यसका लागि शिक्षक दरबन्दी थपिन्छ ।”
त्यस्तै, उनले केहि विश्वविद्यालयले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिना देखि १ वर्षसम्म ढिलाइ गर्दा विद्यार्थीलाई अपूरणीय क्षति पुगेको भन्दै बढीमा तीन महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिए । समयमै नतिजा ननिकालेका विश्वविद्यालयको अनुदान रोक्का गर्ने चेतावनी पनि उनले दिएका छन् ।
“राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाका पाँच लाख विद्यार्थीको नतिजा तीन महिनाभित्रै निकाल्न सक्छ भने विश्वविद्यालयले किन नसक्ने ?” मन्त्री पुनको प्रश्न थियो ।
यसैगरी, मन्त्री पुनले त्रिभुवन विश्वविद्यालय किर्तिपुर परिसरभित्रका रुख नकाटी झाडी फाँडेर सुन्दर बगैंचासहित आकर्षक फुटपाथ बनाउन पनि निर्देशन दिएका छन् । उनले विश्वविद्यालय परिसरलाई सफा, हरित र आकर्षक बनाउन आवश्यक पहल गर्न सम्बन्धित निकायलाई आग्रह गरे ।












