दाङ, ८ असाेज । दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणका प्रारम्भिक तयारी तीव्र गतिमा अघि बढेका छन्। हालसम्म सर्भे प्रक्रिया पूरा भइसकेको छ भने हाल साइट भेरिफिकेसनको काम जारी छ। सडक डिभिजन कार्यालय दाङसँग सहकार्यमा निर्माण कम्पनी दिवा/बन्दन भगवती जेभीले भेरिफिकेसन सम्पन्न गरेपछि कात्तिक महिनादेखि सडक निर्माण सुरू गर्ने योजना बनाएको कम्पनीका कन्ट्र्याक्ट म्यानेजर इन्जिनियर सुनिल ढुङ्गानाले जानकारी दिनुभयो।

उनका अनुसार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार सडक निर्माणको क्रममा हटाउनुपर्ने रुख, विद्युत् पोल तथा घरको विवरण पहिचानको काम भइरहेको छ। गत साउनको दोस्रो सातादेखि निर्माण कम्पनी र सडक डिभिजन कार्यालयका प्राविधिक टोलीले संयुक्त सर्भे प्रारम्भ गरेका थिए।

डिके पेट्रोलपम्पदेखि हात्तीखौसम्मको २१.५८ किलोमिटर सडकखण्डमा ४३ वटा रुख हटाउनुपर्ने देखिएको छ। सहरी क्षेत्रमा सडक ३० मिटर चौडाइ (२० मिटर कालोपत्रे र फुटपाथसहित) रहनेछ भने ग्रामीण क्षेत्रमा १५ मिटर कालोपत्रे बनाइने योजना छ। करिब ९.५ किलोमिटर सडक सहरी क्षेत्रमा पर्नेछ।

यो सडक स्तरोन्नतिका लागि २ अर्ब ५३ करोड रुपैयाँमा २०८२ असार २४ गते दिवा/बन्दन भगवती जेभीसँग ठेक्का सम्झौता भएको हो। सम्झौताअनुसार २०८५ असार २४ भित्र निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ।

यसअघि भारतको एक्जिम बैंकको ऋण सहयोगमा २०७६ सालदेखि सुरु गरिएको सडक निर्माण ठेकेदारको लापरबाहीका कारण बीचमै रोकिएको थियो। त्यसपछि २०८० जेठमा तत्कालीन सरकारले भारतीय कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टसँगको ठेक्का रद्द गरेको थियो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस