काठमाडौँ, ८ असोज । दसैँ, तिहार र छठलाई लक्षित गर्दै देशभरका ४५ जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा आएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार १११ स्थानमा यस्ता पसल सञ्चालन भइसकेका छन्। काठमाडौँ उपत्यकामा थापाथली, रामशाहपथ, दक्षिणकाली र ललितपुरको नख्खु खाद्य गोदाम परिसरमा सुपथ पसल खुलाइएका छन्।
घटस्थापनाको एक साताअघि अर्थात् भदौ ३० गतेदेखि सुरु गरिएको यो योजना छठ पर्वसम्म निरन्तर रहनेछ। उपभोक्तालाई दैनिक आवश्यक वस्तु सस्तो मूल्यमा उपलब्ध गराउने उद्देश्यले सुपथ पसल सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
सुपथ पसलमा उपभोक्ताले चामल, गहुँदाना र गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ छुट, खाने तेल, चिउरा, आटा, पिठो र मैदामा प्रतिकिलो/लिटर ७ रुपैयाँ छुट पाउँदै आएका छन्। यस्तै, चियापत्ती, मसला, जुम्ली मार्सी, कागुनो, उवा, सिमी, फापरजस्ता रैथाने अन्नमा प्रतिकिलो १० रुपैयाँ छुटको व्यवस्था छ। जिउँदो खसी, बोका र च्याङ्ग्रामा समेत प्रतिकिलो १० रुपैयाँ छुट दिइएको कम्पनीले जानकारी दिएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी माधव मिश्रका अनुसार देशभर सञ्चालनमा रहेका पसलमा उपभोक्ताको सहभागिता उच्च छ र दैनिक एक करोड रुपैयाँभन्दा बढीको कारोबार भइरहेको छ। सहुलियत पसल सञ्चालनका कारण चाडपर्वमा महँगो हुने चिन्ता कम भएको उनको भनाइ छ। उपत्यकाबाहेक झापा, मोरङ, भोजपुर, खोटाङ, जनकपुर, रुपन्देही, दाङ, सुर्खेत, कैलाली, डोटी, बझाङदेखि दार्चुलासम्म यस्ता पसल सञ्चालनमा छन्, जसले ग्रामीण भेगका उपभोक्तालाई समेत राहत दिएको कम्पनीको दाबी छ।
यसैगरी, साल्ट ट्रेडिङ्ग कर्पोरेसनले पनि आफ्ना कार्यालय रहेका स्थानमा सुपथ पसल सञ्चालन गरेको छ। काठमाडौँ उपत्यकामा मात्रै १२ स्थानमा यस्ता पसल खुलाइएका छन्। कालीमाटी, सतुङ्गल, कोटेश्वर, जावलाखेल, बालाजु, महाराजगन्जलगायत क्षेत्र त्यसमा पर्छन्। साल्ट ट्रेडिङ्गका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार चिनीमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा २ रुपैयाँ र तेलमा ७ रुपैयाँ छुट दिइएको छ। उनका अनुसार सुपथ पसल सुरु भएदेखि नै उपभोक्ताको भीड बाक्लो छ।












