दाङ, ९ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको लेखापढी कानुन व्यवसायीहरूको कार्यालयमा आगजनी र तोडफोड हुँदा करिब ३५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । गत भदौ २४ गते दिउँसो करिब ३ बजेतिर जेनजी समूहका व्यक्तिहरूको भिडले मालपोत कार्यालय परिसरभित्र रहेको लेखापढी व्यवसायीहरूको कार्यालयमा तोडफोड गर्दै आगजनी गरेको थियो ।
आगजनीका कारण अफिसभित्र रहेका कम्प्युटर, प्रिन्टर, स्क्यानर, टेबल, कुर्सी, पर्दा, कागजात, प्रमाणपत्रलगायत सम्पूर्ण भौतिक सामग्री जलेर नष्ट भएको नेपाल लेखापढी कानुन व्यवसायी संघ लुम्बिनी प्रदेशका संयोजक हरीलाल पौडेलले जानकारी दिनुभयो । क्षतिको विवरणअनुसार, लेखापढी समितिको कार्यालयका सामान मात्र १३ लाख ६१ हजार रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
त्यस्तै, व्यक्तिगत रूपमा लेखापढी व्यवसायीहरू हरीलाल पौडेल, झक्कुप्रसाद वली, टेकनप्रसाद गौतम, विनोद न्यौपाने, नवराज गौतम, कालि बहादुर चौधरी, मोहलाल बस्नेत, भिमबहादुर खत्री, पूर्णबहादुर वली, भुपबहादुर बुढामगर, धर्मराज वली, खेमराज खड्का, सुनिल पाण्डे, देवबहादुर रेग्मी, श्यामराज डीसी, सुमन रेग्मी र सुरेन्द्र रिजाललगायत १८ जनाको व्यक्तिगत क्षति जोड्दा करिब ३५ लाख ३५ हजार ३ सय रुपैयाँ पुगेको पीडित पक्षको दाबी छ ।
लेखापढी समितिले सम्बन्धित निकायसँग कानुनअनुसार क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।












