भरत वली

रोल्पा, १७ असोज । लगातारको भारी वर्षाको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय रोल्पाले जिल्लाभित्र सवारी आवागमनमा अस्थायी रोक लगाएको छ।

जिल्ला सुरक्षा समितिको असोज १७ गते बसेको बैठकले असोज १७ देखि २१ गतेसम्म बेलुकी ६ बजेदेखि बिहान ५:३० बजेसम्म शहीद मार्ग र ग्रामीण भेगका भित्री सडकहरूमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

यस्तै, माडीचौर–घर्तीगाउँ खण्ड (मदन भण्डारी राजमार्ग) मा प्राविधिक मूल्याङ्कन पूरा भई अर्को सूचना जारी नहुन्जेलसम्मका लागि सबै प्रकारका चार पाङ्ग्रे सवारी साधन चलाउन प्रतिबन्ध लगाइएको छ।

प्रशासनले भारी वर्षाका कारण बाढी, पहिरो र भूक्षय जस्ता घटनाबाट जनधनको क्षति हुनसक्ने भन्दै सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरेको छ। साथै, यस निर्णयका कारण पर्न सक्ने असुविधाप्रति जिल्ला सुरक्षा समितिले क्षमायाचना गर्दै स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, यातायात व्यवसायी, सञ्चारकर्मी र बुद्धिजीवीलगायत सबैलाई कार्यान्वयनमा सहयोग गर्न अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालयले आकस्मिक अवस्थामा विरामी बोकेका एम्बुलेन्सलाई भने सुरक्षाकर्मीहरूसँग समन्वय गरेर सञ्चालन गर्न सकिने जनाएको छ।

उद्धार तथा सहयोग आवश्यक परेमा जिल्ला प्रहरी कार्यालय (९८५७८२२८५५, ९८५७८२५५५५), नेपाली सेना सूर्य दल गण (९७६७०११९१६), सशस्त्र प्रहरी बल आश्रित गुल्म (९८४९७५७८४३, ९८५७८७७००५) वा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (९८६६९१९९२२) मा सम्पर्क गर्न सकिने जिल्ला प्रशासन कार्यालय, रोल्पाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस