रोल्पा, ३१ असोज । तिहार पर्वलाई लक्षित गर्दै नेपाल विद्युत प्राधिकरण, रोल्पा वितरण केन्द्रले विद्युत आपूर्ति नियमित र भरपर्दो बनाउन बुस–कटिङ (रुख तथा हाँगा छाँट्ने) कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
प्राधिकरणका अनुसार उक्त कार्यका क्रममा विभिन्न स्थानका वितरण लाइनहरू केही समयका लागि अवरुद्ध हुने भएका छन् । कार्यक्रमअनुसार मिति २०८२ साल कार्तिक १ गते (शनिबार) बिहान ८:०० बजेदेखि दिउँसो १:०० बजेसम्म वितरण लाइन बन्द रहनेछ ।
रोल्पा वितरण केन्द्रले जानकारी दिएअनुसार सुलिचौर ११ केभी फिडर अन्तर्गत पर्ने सुनिलस्मृति गाउँपालिकाको सात्दोबाटोदेखि सुलिचौर बजार, रुइनिबाङ बजार क्षेत्र, अरेस, तेवाड लगायतका स्थानहरू, साथै लुङग्री गाउँपालिका र सुनछहरी गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा उक्त समयमा विद्युत आपूर्ति अवरुद्ध हुने छ ।
कार्य सम्पन्न भएमा तोकिएको समयभन्दा अगावै विद्युत सेवा सुचारु गरिने प्राधिकरणले जनाएको छ ।
विद्युत अवरुद्धका कारण उपभोक्तामा पर्न सक्ने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण, रोल्पा वितरण केन्द्रले क्षमायाचना गरेको छ ।













