घोराही, २९ माघ । पठन सस्कृति निर्माणका लागि अध्ययन मञ्च दाङले सुरु गरेको किताब किन पढ्ने अभियानको दोस्रो श्रृङ्खला मंगलबार घोराहीमा सम्पन्न भएको छ ।
मञ्चका संयोजक सूर्य बिसीले बालबालिकाहरुलाई पुस्तक पढ्नु पर्ने कारण र यसबाट हुने लाभबारे आफ्नो प्रस्तुति दिनुभएको थियो । ‘बालपाठक निर्माणमा जोड दिनु आजको अनिवार्य आवश्यकता हो ।’ बिसीको भनाइ थियो ।
सभाध्यक्षको भूमिकामा रहनुभएका वरिष्ठ पत्रकार एवं सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमले अध्ययन मञ्च दाङले निकै महत्वपूर्ण अभियान सुरु गरेको बताउँदै यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । अध्ययन मञ्च दाङले सर्वोदय पुस्तकालय तथा वाचनालय घोराहीमा आयोजना गरेको कार्यक्रममा मञ्चका सदस्य थम्मन बस्नेतले मञ्च गठनबारे प्रकाश पार्नुका साथै कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
ज्ञानज्योती अध्ययन मञ्च गठन
यसैबिच घोराही उपमहानगरपालिका १३ डुमरगाँउस्थित ज्ञानज्योती एजुकेसनल एकेडेमीमा ज्ञानज्योती अध्ययन मञ्च गठन गरिएको छ ।
कक्षा ८ कि छात्रा आशा रोका मगरको संयोजकत्वमा बीस सदस्यीय ज्ञानज्योती अध्ययन मञ्च गठन गरिएको छ । प्रविधिको युगसँगै विद्यार्थीहरुमा पुस्तकप्रति झुकाव कम हुँदै गइरहेको अवस्थामा विद्यार्थीहरुमा पठन संस्कृतिको विकासका लागि अध्ययन मञ्च गठन गरिएको शिक्षक थम्मन बस्नेतले बताउनुभयो ।
अध्ययन मञ्च दाङको सदस्य समेत रहनुभएका बस्नेतले विद्यार्थीहरुमा बौद्धिक क्षमताको विकासका लागि विद्यालयमा अध्ययन मञ्च गठन गरिएको बताउनुभयो । ज्ञानज्योती अध्ययन मञ्चमा कक्षा सातदेखि नौंसम्मका विद्यार्थीहरु सदस्य रहेकाछन् ।

