oplus_2

घाेराही, २२ पाैष । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले जेष्ठ नागरिक सराेकार केन्द्र घाेराही १६ तेराैटेलाई बेड हस्तान्तरण गरेकाे छ।

३५ औं स्थापना दिवसका अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत प्याब्सन घाेराहीले मंगलबार बृद्धाश्रमलाई २ थान लाे बेड एक कार्यक्रम गरि हस्तान्तरण गरेकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन केन्द्रीय कार्यसमितिका निवर्तमान सचिव यादव गिरीले सामाजिक उत्तरदायित्व अन्तर्गत हस्तान्तरण गरिएकाे भाैतिक सामग्री थाेरै देखिएता पनि यसकाे महत्व धेरै रहेकाे बताउनुभयाे । गिरीले प्याब्सन घाेराहीले सामाजिक उत्तरदायित्वका कार्यहरु गरिरहेकाले यस्ता कार्यलाई आगामी दिनमा निरन्तरता दिन आग्रह गर्नुभयाे ।

हस्तान्तरण कार्यक्रममा बाेल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले निजी विद्यालयलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने बताउनुभयाे । उहाँले निजी विद्यालय सामाजिक सेवाभाव सहित अगाडि बढेकाले निजी विद्यालयलाई नकारात्मक दृष्टिकोणबाट हेर्न नहुने बताउनुभयाे । युवा पलायनले घरहरु रित्तिरहेकाे अवस्थामा भविष्यमा जेष्ठ नागरिक सराेकार केन्द्र नै हाम्रा आश्रय स्थल नहाेलान भन्न नसकिने चिन्ता व्यक्त गर्दै प्रियासनले सबै पक्ष यसकाे संरक्षण र विकासप्रति केन्द्रित हुनुपर्ने बताउनुभयाे ।

प्याब्सन दाङका अध्यक्ष निर्मल न्याैपानेले विद्यालयबाहिरकाे शिक्षा जेष्ठ नागरिक सराेकार केन्द्र उपयुक्त रहेकाे बताउनुभयाे । उहाँले विद्यार्थीहरुका लागि नैतिक शिक्षा र संस्कार प्रदान गर्न सकिने स्थलकाे रुपमा जेष्ठ नागरिक सराेकार केन्द्र रहेकाे उल्लेख गर्नुभयाे ।

जेष्ठ नागरिक सराेकार केन्द्रका अध्यक्ष भुपाल गिरीले हरेक घरहरु जेेष्ठ नागरिकहरुकाे आश्रम हुनुपर्नेमा जाेड दिनुभयाे । बृद्धावस्थामा जेष्ठ नागरिकले घर त्याग्नुपर्ने अवस्था कसैले पनि निम्त्याउन नहुने बताउनुभयाे । सबै बृद्ध हुने नै हाे, भाेली हाम्राे अवस्था यहाँका जेष्ठ नागरिकले घरबाट भाेग्नु परेकाे तिरस्कारजस्तै नहाेला भन्न नसकिने भएकाले जेष्ठ नागरिकहरुकाे सम्मान र संरक्षण सन्ततीले गर्न जरुरी रहेेकाे गिरीले बताउनुभयाे ।

प्याब्सन घाेराहीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष मानसिंह घर्तीले स्वागत मन्तव्य राख्नुभएको थियाे भने सचिव विमल भण्डारीले सहजीकरण गर्नुभएकाे थियाे ।

प्याब्सन दाङले तीन दिनसम्म मनाउन लागेकाे स्थापना दिवसकाे दाेस्राे दिन बुधबार प्याब्सन र नेपाल पत्रकार महासंघ दाङबीच प्रज्ञान एकेडेमीमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता राखिएकाे छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस