विमल याेगी
दाङ, १५ माघ । दाङकाे घाेराही उपमहानगरलाई नेपालकै पहिलाे लैंगिक हिंसा नियन्त्रित नगर घाेषणा गरिएको छ । लैंगिक हिंसा नियन्त्रण गर्नका लागि तय गरिएका सवै सूचक पुरा भएपछि नगरकाे ४८ ओैं स्थापना दिवसकाे अवसरमा बिहिवार घाेराहीमा आयाेजित कार्यक्रममा घाेराहीलाई लैंगिक हिंसा नियन्त्रित नगर घाेषणा गरिएको हाे ।
नगर प्रमुख नरूलाल चाैधरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले घाेराहीलाई लैंगिक हिंसा नियन्त्रित नगर घाेषणा गर्नुभएको थियाे । सभालाई सम्वाेधन गर्दै मुख्यमन्त्री आचार्यले घाेराहीले लैंगिक हिंसा नियन्त्रित नगर घाेषणा गरेर देशमै नमूनायाेग्य काम गरेकाे भन्दै यसकाे सिकाे सवै पालिकाहरूले सिक्नुपर्ने बताउनुभयाे ।
साे अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले घाेराहीले भाैतिक विकास मात्र नभएर सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेकाे भन्दै प्रशंसा व्यक्त गर्नुभयाे । नगरलाई बालमैत्री,लैंगिक हिंसा नियन्त्रित जस्ता अभियान सफलतापूर्वक सम्पन्न गरेकाे भन्दै उहाले आगामी दिनमा नगरले अगाडी सार्ने अभियानमा सवैले साथ दिनुपर्ने उहाले बताउनुभयाे ।
यस्तै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले समाजलाई समुन्नत र सभ्य बनाउन लैंगिक हिंसा नियन्त्रणले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयाे । देशकाे समग्र विकासका लागि पूर्वाधार विकासले मात्र नुहदै भन्दै उहाले समाजिक विकास विना विकासले दिगाे रूप लिन नसक्ने बताउनुभयाे ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारकाे तर्फबाट मुख्यमन्त्री आचार्यले घाेराही उपमहानगरपालिकाका नगर प्रमुख नरूलाल चाैधरीलाई लैंगिक हिंसा नियन्त्रण घाेषणा गरेकाेमा कदर पत्र प्रदान गर्नुभएकाे थियाे । यस्तै जिल्ला समन्वय समिति दाङद्वरा घाेराही उपमहानगरपालिकाकाे महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माेति विश्वकर्मालाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियाे । यस्तै लैंगिक हिंसा नियन्त्रित नगर बनाउन सहयाेग गर्ने विभिन्न संस्था, व्यक्तिलाई सम्मान गरिएको थियाे ।
घाेराही उपमहानगरपालिकाका उपमेयर हुमा कुमारी डिसीकाे स्वागत मन्तव्यवाट सूरू भएकाे कार्यक्रमकाे सञ्चालन नगरका विपत व्यस्थापन शाखाका प्रमुख मदन कुमार वलीले गर्नुभएको थियाे ।











