काठमाडौं, २७ फागुन । राष्ट्रिय जनमोर्चाका महामन्त्री मोहन विक्रम सिंहले हालै सम्पन्न आम चुनाव अमेरिकी साम्राज्यवादको रणनीतिअनुसार भएको दाबी गर्दै त्यसबाट नेपालमा कठपुतली सरकार बन्ने आधार तयार भएको बताउनुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत जारी गर्नुभएको प्रेस वक्तव्यमा २०८२ फागुन २१ गते सम्पन्न चुनाव अनावश्यक रहेको र त्यसको परिणामले देशको राष्ट्रियता, सार्वभौमिकता र शान्तिमाथि गम्भीर असर पार्ने चेतावनी दिनुभएको छ।
वक्तव्यमा अमेरिकाले विश्वका विभिन्न देशमा सत्ता परिवर्तनका लागि हस्तक्षेप गर्दै आएको आरोप लगाउँदै नेपालमा पनि चुनावमार्फत त्यही उद्देश्य पूरा गर्ने प्रयास भएको उल्लेख गरिएको छ। भ्रष्टाचार र कुशासनका कारण जनतामा असन्तोष बढेको तथा त्यसलाई उपयोग गरेर विदेशी शक्तिले नेपालमा आफ्नो प्रभाव विस्तार गर्ने अवसर पाएको उहाँको भनाइ छ।
त्यसैगरी, जेनजी आन्दोलनलाई बाह्य तथा प्रतिगामी शक्तिले उपयोग गरेको आरोप लगाउँदै भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न उहाँले माग गर्नुभएको छ। वर्तमान परिस्थितिको गम्भीर विश्लेषण गरेर आगामी नीति तथा कार्यक्रम तय गर्ने पनि वक्तव्यमा उल्लेख गरिएको छ।












