दाङ, १४ जेठ । नेपाल प्रेस युनियनको ३५ औँ स्थापना दिवसका अवसरमा दाङ शाखाले आफ्ना संस्थापक जिल्ला अध्यक्ष रामप्रसाद पौडेललाई सम्मान गरेको छ । विगत केही समयदेखि अस्वस्थ रहनुभएका पौडेललाई युनियनको पदाधिकारी टोलीले उहाँकै निवासमा पुगेर सम्मान गरेको हो ।
दाङमा नेपाल प्रेस युनियनको स्थापना तथा संगठन निर्माणमा उहाँले पुर्याउनुभएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै निवासमै पुगेर कदरपत्र र दोसल्ला ओढाई सम्मान गरिएको युनियनका दाङ जिल्ला कोषाध्यक्ष लीलाधर वलीले जानकारी दिनुभयो । सम्मान कार्यक्रममा युनियनका दाङ शाखा अध्यक्ष नारायण खड्का, केन्द्रीय सदस्य लक्ष्मीमान चौधरी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष एवं युनियनका सल्लाहकार सन्तोष सुवेदी, लुम्बिनी प्रदेश उपाध्यक्ष पहलमान घर्ती, जिल्ला उपाध्यक्ष पार्वती बस्नेत, निवर्तमान सचिव आर.के. शीतल र कार्यसमिति सदस्य नारायण नेपाल लगायतको उपस्थिति रहेको थियो ।
आफ्नै निवासमा सम्मानित भएपछि संस्थापक अध्यक्ष पौडेलले युनियनले देखाएको यो हार्दिकता र सद्भावप्रति विशेष आभार प्रकट गर्नुभयो । सो अवसरमा उहाँले पत्रकारहरूलाई सधैं निष्पक्ष पत्रकारितामा लाग्न आग्रह गर्नुभयो । पत्रकारिता कमजोर हुँदा लोकतन्त्र समेत कमजोर हुने उल्लेख गर्नुहुँदै उहाँले सञ्चारकर्मीहरू सधैं आवाजविहीनहरूको आवाज बनेर उभिनुपर्नेमा जोड दिनुभयो ।











