दाङ, १४ साउन । दाङको तुलसीपुरमा बिहीबार बिहान स्कुल बस रोकेर एक विद्यार्थीमाथि खुकुरी प्रहार भएको छ । मोटरसाइकलमा आएका दुई जना अज्ञात युवकले गुडिरहेको बस रोकेर कक्षा ११ मा अध्ययनरत विद्यार्थीमाथि खुकुरी प्रहार गरेका हुन् ।

तुलसीपुरस्थित ग्रेट अरनिको माविका विद्यार्थी छाड्न जाँदै गरेको रा १ क ५३४ नम्बरको बसलाई तुलसीपुर–८ स्थित गहते खोलामा रोकेर आक्रमण भएको हो । बिहानी कक्षा सकिएपछि घर फर्किँदै गरेका कक्षा ११ का विद्यार्थी नयन वलीमाथि खुकुरी प्रहार भएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालयका प्रिन्सिपल विष्णु देवकोटाका अनुसार मोटरसाइकलमा आएका युवकहरूले बस रोक्न लगाई भित्र प्रवेश गरेर वलीमाथि खुकुरीको पछाडिको भागले लगातार प्रहार गरेका थिए ।

आक्रमणपछि बसका चालकले ती युवकहरूलाई नियन्त्रणमा लिने प्रयास गरे पनि उनीहरू घटनास्थलबाट फरार भएका थिए । बसभित्रै भएको विभत्स आक्रमण प्रत्यक्ष देखेकी एक छात्रा आत्तिएर बेहोस भएकी छिन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घटनामा संलग्न व्यक्तिहरूको तीव्र खोजी भइरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा पुरानो व्यक्तिगत रिसिबीका कारण आक्रमण भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस