काठमाडौं, २३ भदौ । नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण पार्टी कमजोर भएको बताउनुभएकाे छ । उहाँले पार्टी नेता कार्यकर्ता जनपरिचालन भन्दा पनि सिडिओ सरुवातिर केन्द्रित हुँदा पनि जनतासँगको सम्बन्ध टुटेको जिकिर गर्नुभयो ।

मधेस प्रदेश कमिटीले आयोजना गरेको मिसन जागरण अभियानको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उपमहासचिव समेत रहनुभएका ज्ञवालीले पार्टी नेताहरु सरकारी र राजर्षीपनका कारण एमाले कमजोर भएको बताउनुभयाे । ‘एमाले जनपरिचालन गर्ने पार्टी हो तर हाम्रो कार्यशैली सरकारी भयो । राजर्षी भयो’ ज्ञवालीले भन्नुभयाे ‘हाम्रो ध्यान सिडिओ सरुवा, प्रहरी र प्रशासकीय अधिकृतको सरुवातिर केन्द्रित भयो । यसले पार्टी नेतालाई जनतासँग टाढा पुर्यायो । यो कुरा आजैका मितिबाट सुधार हुन जरुरी छ ।’

ज्ञवालीले फागुनको निर्वाचनमा एमालेको कमजोर नतिजा आउनुमा पार्टीको आन्तरिक एकतामा भएको गडबडी पनि मुख्य कारक भएको उल्लेख गर्नुभयाे । पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विवाद, समुह, उपसमुहको निर्माण र निर्वाचनमा एकताबद्ध भएर जान नसक्दा यो अवस्था आएको ज्ञवालीकाे जिकिर थियाे । ‘गतवर्षको भदौ २३ गतेसम्म एमाले ठूलो र बलियो पार्टी थियो तर यसवर्षको भदौ २३ मा एमाले कमजोर पार्टी भएको छ’ ज्ञवालीले भन्नुभयाे ‘यो अवस्था आउनुमा पार्टी जनताका मुद्धाबाट टाढिएको परिणाम हो । जसले गर्दा संविधान मिचिदा होस वा पार्टी नेता माथी सरकारले ज्यादती गर्दा पनि जनता सडकमा आएनन् ।’

ज्ञवालीले २०७९ को निर्वाचनपछि एमालेलाई सत्ताभोगी पार्टीको रुपमा जनताले बुझेको बताउनुभयाे । २०७९ देखि २०८२ सम्म आउँदा चार पटक एमालेले सत्ता समिकरण बदलेको उहाँले बताउनुभयाे। ‘२०७९ देखि ०८२ सम्म एमालेले चार पटक सत्ता समिकरण बदल्यो । पहिला प्रचण्डलाई प्रधानमन्त्री बनायो । केही महिनामा नै त्यो सरकार छोड्यो । फेरी प्रचण्डलाई नै प्रधानमन्त्री मानेर सरकारमा सहभागी भयो’ ज्ञवालीले भन्नुभयाे ‘सरकारमा भित्रिने वा बाहिरिएको कारण हामीले जनतालाई भनेनौ । आखिर प्रचण्ड सुध्रिएर हामीले सत्तामा गएका थियौं कि हामी सुध्रिएर ? यसको जवाफ अझै पनि जनताले खोजेका छन् ।’ प्रचण्ड सरकारबाट हठात हटेर काँग्रेससँगको सहकार्यले त जनतामा ज्यादै नकारात्मक सन्देश गएको उहाँले बताउनुभयाे ।

एमालेले जनताका समस्याको पहिचान, उठान र समाधान दिनुपर्ने ज्ञवालीको भनाइ छ । पार्टीको भेला धनुषाको लालगढमा जारी छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस