काठमाडौँ, असार ०२ । प्रेस चौतारी नेपालले आफ्ना पूर्व केन्द्रीय सदस्य तथा नजर अनलाइनका सम्पादक झलक पालीमाथि प्रहरी र स्थानीयबाट भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। चौतारीका अनुसार ‘प्रहरीसँग पत्रकार’ नामक फेसबुक म्यासेन्जर समूहमा डोटीको जोरायल गाउँपालिका–१ निवासी दीपक खड्काको मृत्युसम्बन्धी समाचार प्रकाशनको विषयलाई लिएर झलक पालीमाथि प्रहरी तथा केही स्थानीय मिलेर भ्रम फैलाउने, हतोत्साहित गर्ने र सार्वजनिक रूपमा धम्की दिने जस्ता गतिविधि भएका छन्।
उक्त घटना प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको चौतारीले जनाएको छ।
प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति खेद व्यक्त गरेका छन्। उनले घटनाको निष्पक्ष छानबिन गरिनु पर्ने र पत्रकार पालीको सुरक्षाको प्रत्याभूति दिनु पर्ने मागसमेत सम्बन्धित निकाय समक्ष राखेका छन्।












