काठमाण्डौ, असार ०३ । नवलपरासी, रुपन्देही, चितवनसहित आसपासका क्षेत्रमा विगत ६ घण्टामा ठूलो मात्रामा वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा धेरै नवलपरासी पूर्वमा १५९ मिलिमिटर वर्षा मापन गरिएको छ। त्यसैगरी, रुपन्देही र चितवनमा पनि ७० मिलिमिटरभन्दा बढी पानी परेको छ।
बाढी पूर्वानुमान महाशाखाले नवलपरासीको दुम्कौली र परासी आसपास भएर बग्ने साना खोलामा बाढीको जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ। यस्तै, कावासोती र गिरिउवारी क्षेत्र आसपासका खोलामा पनि बाढी आउन सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ।
काठमाण्डौ उपत्यकामा गएराति मध्यम वर्षा भएको थियो। आज पनि देशका सबै प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा ठूलो वर्षा हुने पूर्वानुमान गरिएको छ।
हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भागहरूमा मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। त्यस्तै, लुम्बिनी प्रदेशको पूर्वी भागमा पनि मनसुनी प्रणालीको प्रभाव देखिएको छ भने देशको पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम विभागले जनाएको छ।












