दाङ, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको जिल्ला सभापतिमा किरण खनाल निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा खनालले १ सय ९६ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
सभापतिका अन्य उम्मेदवारहरू बिनय घिमिरेले १ सय २४ मत, केदार रजौरेले ६ मत तथा किरणकुमार आचार्यले २ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै, उपसभापति पदमा निराजन थापा २ सय ४१ मतसहित विजयी हुनुभएको छ । उहाँकी प्रतिद्वन्द्वी सुनिता रावतले ८० मत प्राप्त गर्नुभयो । सचिव पदमा २ सय मतसहित अशिम भुसाल निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी बलिराम खत्रीले १ सय २३ मत प्राप्त गर्नुभएको थियो ।
सह–सचिव पदमा प्रमिला रोका मगर १ सय ४८ मतसहित विजयी हुनुभएको छ । सह-सचिवका प्रतिस्पर्धी दिपक गैरेले १ सय ८ मत र सोमराज बस्नेतले ६३ मत प्राप्त गर्नुभएको थियो । यसैगरी, निर्वाचनबाट जिल्ला सदस्य पदमा प्रताप पुन मगर, चुमान चौधरी, गोमा शर्मा र पवित्रा बिक निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित नेतृत्वले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनतासँगको सम्बन्ध विस्तार र संगठन सुदृढीकरणमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेको छ ।












