घोराही, १५ साउन । कोड फर चेन्ज दाङको आयोजनामा दाङसहित विभिन्न जिल्लाका कलेजहरूमा सूचना प्रविधि (आईटी) अध्ययनरत विद्यार्थीहरूको सहभागितामा तीनदिने ‘प्रविधि मेला’ सुरु भएको छ। असार १५, १६ र १७ गतेसम्म सञ्चालन हुने मेलामा विद्यार्थीहरूले विकास गरेका विभिन्न मोबाइल एप, सफ्टवेयर, डिजिटल समाधान तथा नवीन प्रविधिमा आधारित आइडियाहरूको प्रतिस्पर्धा भइरहेको आयोजकले जनाएको छ।

कोड फर चेन्ज दाङका अध्यक्ष जगदिश ओलीकाे अध्यक्षता एवम् घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी प्रमुख अतिथ्यता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन र अम्बिकेश्वरी क्याम्पसका प्रमुख चन्द्रप्रकाश खनालकाे विशिष्ट अतिथ्यतामा कार्यक्रम भएकाे थियाे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सूचना प्रविधि आजको विश्वको सबैभन्दा शक्तिशाली माध्यम बनेको उल्लेख गर्दै युवाहरूको सिर्जनशीलता र नवप्रवर्तनलाई स्थानीय सरकारले सदैव प्रोत्साहन गर्ने बताउनुभयाे । उहाँले प्रविधिलाई केवल अध्ययनको विषयका रूपमा मात्र नभई उद्यम, रोजगारी र समाज रूपान्तरणको माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयाे। यस्ता मेलाले विद्यार्थीमा रहेको प्रतिभा उजागर गर्नुका साथै नयाँ आविष्कारलाई व्यवहारमा उतार्न प्रेरणा दिने चाैधरीले विश्वास व्यक्त गर्नुभयाे।

विशिष्ट अतिथि तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनले सूचना प्रविधि र सञ्चार क्षेत्र एकअर्काका परिपूरक रहेको उल्लेख गर्दै डिजिटल युगमा सिर्जना हुने प्रविधिहरूले समाजलाई सही दिशामा लैजानुपर्ने बताउनुभयाे। उहाँले विद्यार्थीहरूले तयार गरेका एप तथा डिजिटल समाधानहरू समाजका वास्तविक समस्या समाधानमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयाे । प्रविधिको विकाससँगै नैतिकता, जिम्मेवारी र तथ्यमा आधारित सूचना प्रवाहको महत्व अझ बढेको भन्दै उहाँले युवालाई सिर्जनशील, अनुसन्धानमुखी र सामाजिक उत्तरदायित्वप्रति सचेत हुन आग्रह गर्नुुभयाे ।

विशिष्ट अतिथि चन्द्रप्रकाश खनालले सूचना प्रविधि अध्ययनलाई व्यवहारिक अभ्याससँग जोड्न आवश्यक रहेको बताउनुभयाे। यस्ता प्रतियोगिताले विद्यार्थीको क्षमता अभिवृद्धि, अनुसन्धान संस्कृतिको विकास तथा नवीन सोचलाई प्रोत्साहन गर्ने उल्लेख गर्दै उहाँले शैक्षिक संस्थाहरूले उद्योग, व्यवसाय र प्रविधि क्षेत्रसँग सहकार्य बढाउनुपर्ने धारणा व्यक्त गर्नुुभयाे ।

कार्यक्रमका अर्का वक्ता अम्बिकेश्वरी क्याम्पसका प्राध्यापक नवराज बस्यालले विद्यार्थीहरूमा रहेको सिर्जनात्मक क्षमतालाई उजागर गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयाे। उहाँले प्रविधिमार्फत स्थानीय समस्या समाधान गर्ने सोच विकास गर्न विद्यार्थीहरूलाई प्रेरित गर्नुुभयाे ।

कार्यक्रममा स्वागत तथा विषय प्रवेश गराउँदै निशा मरासिनीले प्रविधि मेलाको उद्देश्य विद्यार्थीहरूलाई आफ्ना नवीन सोच, अनुसन्धान र प्रोजेक्ट सार्वजनिक गर्ने साझा मञ्च उपलब्ध गराउनु रहेको बताउनुभयाे। उहाँले विभिन्न जिल्लाबाट आएका विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रम थप उपलब्धिमूलक बन्ने विश्वास व्यक्त गर्नुभयाे ।

आयोजक संस्थाका अध्यक्ष जगदिश ओलीले सूचना प्रविधिमा अध्ययनरत युवाहरूलाई प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरी उनीहरूको क्षमता पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले प्रविधि मेला आयोजना गरिएको जानकारी दिनुभयाे । उहाँले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयाे।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी विद्यार्थीहरूले आफ्नै टोलीमार्फत विकास गरेका विभिन्न मोबाइल एप, वेब प्रणाली, डिजिटल सेवा, कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित अवधारणा तथा नवीन प्रविधिसम्बन्धी परियोजनाहरू प्रस्तुत गर्नेछन्। उत्कृष्ट परियोजनाहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताले सूचना प्रविधि क्षेत्रमा अध्ययनरत युवाबीच स्वस्थ प्रतिस्पर्धा, सहकार्य र नवप्रवर्तनको संस्कृतिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

निशा मरासिनीकाे स्वागत मन्तव्य तथा विषय प्रवेशबाट सुरु भएकाे कार्यक्रमकाे सञ्चालन कमल भट्टराई र आश्मा मल्लले गर्नुुुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस