काठमाडौं, १ असाेज । नेकपा (एमाले) केन्द्रीय कार्यालयले संविधान दिवस भव्य र प्रभावकारी रूपमा मनाउने तयारी थालेको छ। संविधान दिवसको तयारीका सम्बन्धमा केन्द्रीय कार्यालयमा महासचिव शंकर पाेखरेलले आयोजना गर्नु भएकाे बैठकले नेपालको संविधान २०७२ को रक्षा र कार्यान्वयनको सन्देशसहित विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।

बैठकले असोज ३ गते बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलको प्राङ्गणमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। उक्त कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

संविधान दिवसका अवसरमा देशभर विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको छ। बैठकले सबै प्रदेश, जिल्ला तथा पालिका कमिटीलाई स्थानीय विशेषता र आवश्यकताअनुसार प्रभावकारी तथा रचनात्मक कार्यक्रम आयोजना गर्न निर्देशन दिएको छ ।

त्यसैगरी, विद्यार्थी संगठन, ट्रेड युनियनलगायत पार्टीसम्बद्ध जनसंगठनहरूले पनि आफ्ना मौलिक नारासहित विभिन्न कार्यक्रम आयोजना गर्ने भएका छन्। संविधानको रक्षा, संवैधानिक व्यवस्थाको सुदृढीकरण तथा संविधानप्रतिको जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले दिवसलाई व्यापक रूपमा मनाउने तयारी एमालेले गरेको हो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस