दाङ, ५ मंसिर । त्रिभुवननगर जेसीजको आयोजनामा घोराहीस्थित गुरुकुल एकेडेमीमा ‘किरण दाहाल स्मृति हाजिरीजवाफ प्रतियोगिता–२०२६’ सम्पन्न भएकाे छ ।

त्रिभुवननगर जेसीजको वार्षिक कार्यक्रमअन्तर्गत आयोजित प्रतियोगितामा सिद्धार्थ एकेडेमी प्रथम, ज्ञानोदय सेकेन्डरी इङ्लिस स्कुल द्वितीय र गुरुकुल एकेडेमी तृतीय भएकाछन् ।

उपमहानगरपालिकाभित्रका १५ ओटा सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो ।

त्रिभुवननगर जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी मिनराज भाटको अध्यक्षता तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. सुरेश रसाइलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि डा. रसाइलीले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि यस्ता ज्ञानमूलक प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो । उहाँले शिक्षा किताबी ज्ञानमा मात्र सीमित हुन नहुने उल्लेख गर्दै यस्ता प्रतियोगिताले विद्यार्थीहरूको विश्लेषणात्मक क्षमता, तर्कशक्ति र आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुर्‍याउने धारणा व्यक्त गर्नुभयो ।

त्यसैगरी, कार्यक्रमका अध्यक्ष भाटले जेसीज युवा क्षमताको विकास र नेतृत्व निर्माणमा निरन्तर क्रियाशील रहेको बताउनुभयो । विद्यार्थीहरूलाई ज्ञानमूलक तथा प्रतिस्पर्धात्मक गतिविधिमा सहभागी गराउँदै भविष्यमा नेतृत्वदायी भूमिकाका लागि तयार पार्नु संस्थाको उद्देश्य रहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रतियोगिताको निर्णायक मण्डलमा बसुन्धरा गौतम, निशान्त आचार्य र डा. लोकराज पराजुली रहनुभएको थियो । प्रतियोगितामा क्विज मास्टरकाे भूमिका जनसम्पर्क अधिकारी जेसी कृष्णदेव थापाले गर्नुभएकाे थियाे । कार्यक्रम संयोजक जेसी रणबहादुर खड्काकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सञ्चालन महासचिव जेसी बाबुराम पाण्डेयले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस