बुटवल, ५ फागुन । प्रदेशसभा प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले कृषिमा आधुनिकीकरण र औद्योगिकीकरणविना आर्थिक समृद्धि हासिल गर्न नसकिने बताउनुभएको छ ।
बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको ४४औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । औद्योगिक विकासविना देश समृद्ध हुन नसक्ने र स्वदेशमा स्वरोजगार सिर्जना हुन नसक्ने भन्दै विदेशिएका नागरिकलाई स्वदेशमा काम गर्ने वातावरण नभएसम्म राष्ट्रले गर्व गर्न नसक्ने उहाँको धारणा थियो ।
वर्तमान सरकारले देशमा समृद्धि र जनतालाई सुखी बनाउने लक्ष्य राखेको चर्चा गर्दै सभामुख घर्तीले सही लक्ष्य, नीति र नेतृत्वविना समृद्धि हासिल गर्न नसक्ने बताउनुभयो । अहिले सामान्य सरकार परिवर्तन नभै व्यवस्था नै परिवर्तन भएको भन्दै उहाँले आशावादी भएर अघि बढ्न नागरिक समाज, उद्योगि व्यवसायी, कर्मचारी एवं सबैमा अनुरोध समेत गर्नुभयो ।
सोहि अवसरमा बोल्दै वुटवल उपमहानगरपालिकाका उपप्रमुख डोमा आचार्यले अहिले उद्योगहरुले दक्ष जनशक्ति बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उपमहानगरले नगरभित्र र आसपासमा आवश्यक दक्ष जनशक्तिको पहिचान गरी बेरोजगार युवाहरुलाई तालिम प्रदान गरिरहेकोले अव उद्योगहरुलाई पनि सजिलो हुने र युवाहरुको वैदेशिक पलायन पनि रोकिने जनाउनुभयो ।
कार्यक्रममा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड केन्द्रीय कार्यालयका निर्देशक दिलिपकुमार श्रेष्ठले पुँजी, कच्चापदार्थ र प्रविधिको समस्या नरहेको तर औद्योगिक क्षेत्र नहुँदा उद्योगीले लगानी गर्न डराएको चर्चा गर्नुभयो । नेपाल सरकारले सवै प्रदेशमा औद्योगिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिरहेको भन्दै उहाँले यो कामलाई दु्रत गतिमा अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।
रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारीले औद्योगिक क्षेत्र विना छरिएर उद्योग खोल्दा उद्योगीले धेरै समस्या भोगेको चर्चा गर्दै धेरै भन्दा धेरै औद्योगिक क्षेत्र स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । सोही औद्योगिक क्षेत्रका उद्योगी समेत रहेका अधिकारीले बुटवल औद्योगिक क्षेत्रमा भवनहरु जीर्ण भएको, कर र भाडा महङ्गो भएको भन्दै सेवा घट्दै गएको तर कर र भाडा बढाउँदै लगेकोमा गुनासो गर्नुभयो ।
वुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिल श्रेष्ठले देशमा नयाँ नयाँ उद्योगहरु स्थापना हुन नसकेको र उद्योगीहरुलाई प्रोत्साहन मिल्ने खालको वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो ।
बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरासिंह भण्डारीले जीर्ण भवन, चर्को भाडाको समस्या रहेको र औद्योगिक क्षेत्र व्यवस्थित नभएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बुटवलका कामु प्रबन्धक देवनारायण सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण भेषराज भट्टराईले गर्नुभएको थियो । सोही अवसरमा उत्कृट काम गर्ने कर्मचारीहरुलाई सम्मान पनि गरिएको थियो ।












