दाङ, १५ वैशाख । दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलले समाजको ऐना नै अदालत भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङ शाखाले शनिबार घोराहीमा जिल्ला अदालत र सरकारी वकिल कार्यालयसँगको समन्वयमा आयोजना गरेको अदालती रिपोर्टिङ अभिमुखीकरण कार्यक्रममा बोल्दै न्यायाधीश रावलले समाजमा घट्ने सबै घटना अदालतमा पुग्ने भएकाले समाजको ऐना अदालत भएको बताउनुभएको हो ।

अदालत स्वच्छ, निष्पक्ष र पारदर्शी भए मात्रै न्यायको सम्मान हुने उहाँको भनाइ छ । न्याय पाउने अन्तिम स्थल नै अदालत भएको भन्दै न्यायाधीश रावलले अदालत विश्वासको केन्द्र बन्न आवश्यक रहेको बताउनुभयो । पीडितलाई न्याय र पीडकलाई गल्तीको महसुस हुने गरी कानुनी दायरामा ल्याउने अन्तिम स्थल अदालत भएकाले यहाँ हुने हरेक कार्यसम्पादनलाई सञ्चारकर्मीहरुले पारदर्शी ढङ्गले बाहिर ल्याउनु पर्ने बताउनुभयो ।

न्यायालय पूर्वाग्रही नहुने भन्दै न्यायाधीश रावलले विचाराधीन मुद्दाहरुमा बारेमा सञ्चारमाध्यमहरुले अति संवेदनशील भएर सूचना प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । नागरिक र अदालतको बीचमा पुलको रुपमा पत्रकारिता अघि बढ्नुपर्ने उहाँको धारणा रहेको थियो । अदालतले संयमताका साथ कार्यसम्पादन गर्ने भएकाले सत्यतथ्य समाचार प्रकाशन प्रसारणमामा पत्रकारहरुले ख्याल गर्नुपर्ने उहाँले बताउनुभयो ।कार्यक्रममा बोल्ने वक्ताहरुले अदालतभित्र हुने विभिन्न किसिमका मुद्दाहरुमा हुने फैसलालाई यथार्थपरक ढङ्गबाट बाहिर ल्याउन सके आपराधिक गतिविधिहरुमा निरुत्साहित हुने बताएका छन् ।

चौतारी दाङका अध्यक्ष जेएन सागरको अध्यक्षता तथा दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, निवर्तमान अध्यक्ष सुदीप गौतम, नेपाल बार एसोसियसन दाङका अध्यक्ष प्रदीपकुमार गौतम, नेकपा एमाले दाङका प्रचार विभाग प्रमुख शरद अधिकारी, महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालकी सचिव लक्ष्मी आचार्य, प्रेस सेन्टर दाङका सचिव पाण्डवप्रसाद शर्मालगायतले बोल्नुभएको थियो ।

चौतारीका उपाध्यक्ष इन्द्र विवश डिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण चौतारीका सचिव प्रेमबहादुर राम्जाले गर्नुभएको थियो । अभिमुखीकरण कार्यक्रममा दाङका ३० बढी पत्रकारहरुको सहभागिता रहेको छ । अभिमुखीकरणको प्रशिक्षकमा न्यायाधीश हेमन्त रावल, जिल्ला न्यायाधिवक्ता चन्द्रबहादुर सिँजाली, बारका अध्यक्ष प्रदीपकुमार गौतम, प्रहरी निरीक्षक हरीबहादुर बिसी, पत्रकार दुर्गालाल केसी रहनुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस