घोराही, २५ वैशाख । विद्यार्थी संगठनहरुले विभिन्न मागहरु राख्दै घोराही उपमहानगरको शिक्षा शाखा र प्याब्सनको कार्यालयलयमा लगाएको ताला खोलेका छन् । घोराही उपमहानगरपालिका सामाजिक विकास समिति, शिक्षा शाखा, प्याब्सन र विद्यार्थी संगठनहरुबीच मंगलबार ८ बुँदे सहमति पछि ताला खुलेको हो ।
छलफलबाट अनुमति विना सञ्चालन भएका कक्षाहरु बन्द गराउने निर्णय भएको छ । त्यसैगरी, संस्थागत विद्यालयहरुले शिक्षा ऐन, नियमावलीअनुसार तत्काल विद्यालय व्यवस्थापन समिति गठन गर्ने, यस शैक्षिक सत्रदेखि शिक्षक, कर्मचारी नियुक्त गर्दा शिक्षा नियमावलीअनुसारको छनोट समितिद्वारा गर्ने, शैक्षिक सत्र २०७४ अनुसार १० प्रतिशत छात्रवृत्ती वितरण गरी शिक्षा शाखा घोराही उपमहानगरपालिकामा पेश गर्ने निर्णय भएको छ ।साथै यसै शैक्षिक सत्र २०७५ मा सामुदायिक विद्यालयले लिएको सहयोग शुल्क र निजी शिक्षकको तलब भत्ता विवरण घोराही उपमहानगरपालिका शिक्षा शाखामा सात दिनभित्र पेश गर्ने, यसै शैक्षिक सत्रमा संस्थागत विद्यालयमा नियुक्त शिक्षकको तलब भत्ता घोराही उपमहानगरको शिक्षा शाखामा सात दिनभित्र पेश गर्ने निर्णय भएको छ ।
त्यसैगरी, घोराही उपमहानगरपालिकाको शिक्षा शाखाले २०७५ वैशाख २३ गते गठन गरेको अनुगमन समितिले अनुगमनलाई निरन्तरता दिँदै अहिले देखिएको समस्याहरु समाधान गर्ने निष्कर्षसहित अर्को निर्णय नभएसम्म हाल बृद्धि भएको शुल्क नलिन निर्देशन दिने निर्णय समेत भएको छ । साथै विद्यार्थी संगठनहरु अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेविसंले घोराही उपमहानगरको शिक्षा शाखा र प्याब्सनको कार्यालयमा लगाएको ताला खोल्ने सहमति भएको छ ।छलफलमा उपमहानगरका सामाजिक विकास समिति संयोजक भरत अर्याल, उपमहानगर शिक्षा शाखा प्रमुख नारायण पौडेल, प्याब्सनका अध्यक्ष यादव गिरी, शिक्षक महासंघ घोराही उपमहानगर अध्यक्ष निशान्त आचार्य, अनेरास्ववियुका सुरेश जिसी, क्रान्तिकारीका सन्तोष पोख्रेल, नेविसंघका टेपबहादुर बुढाथोकी र बलदेब मल्लको सहभागिता रहेको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस