घोराही, ८ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर २ को सुर्केडाँगीमा करिब ४ सय घरधुरीलाई खानेपानी पुर्‍याउने लक्ष्यका साथ डिप बोरिङको निर्माण थालिएको छ । चालु आर्थिक वर्षको घोराही उपमहानगरपालिकाले विनियोजन गरेको १५ लाख रुपैयाँको लागतमा सुर्केडाँगी गाउँमा खानेपानीको डिप बोरिङ निर्माण थालिएको हो ।
डिप बोरिङको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले शिलान्यास गर्नुभएको छ । चालु आर्थिक वर्षमै निर्माण सम्पन्न गर्नेगरी गौरीशंकर वाटर ट्युबेल एण्ड कन्ट्रक्सन सर्भिसेज प्रालि भरतपुर १० चितवनले डिप बोरिङ निर्माणको काम सुरु गरेको छ ।
स्थानीय सोमप्रसाद सुबेदीले उपलब्ध गराएको १० धुर जग्गामा निर्माण गरिने डिप बोरिङको पानी सुर्केडाँगी, अघरे, भट्टेटारलगायतका करीब ४ सय घरधुरीलाई पु‍र्‍याउने लक्ष्य राखिएको वडा अध्यक्ष केशवराज आचार्यले जानकारी दिनुभयो ।
शिलान्यासपछि नगर प्रमुख नरुलाल चौधरीले सुर्केडाँगी क्षेत्रमा लामो समयदेखिको खानेपानीको समस्या अब हट्ने बताउनुभयो । यो सालमा डिप बोरिङ तयार पार्ने र अर्को वर्षदेखि पानी संकलनका लागि टंयाङ्कीको निर्माण गरिने र नागरिकहरुलाई शुद्ध पानी वितरण गरिने नगर प्रमुख चौधरीले जानकारी दिनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस