घोराही, १५ असोज । २८औँ जेष्ठ नागरिक दिवसको अवसरमा घोराही उपमहानगरपालिकाले तेरौँटेमा बस्दै आएका जेष्ठ नागरिकहरुलाई खाद्यान्न तथा फलफूल प्रदान गरेको छ । “जेष्ठ नागरिक अभियन्ताहरुलाई सम्मान गरौँ” भन्ने नाराका साथ सोमबार परेको २८औँ जेष्ठ नागरिक दिवसका अवसरमा घोराही उपमहानगरपालिकाले जेष्ठ नागरिक जिल्ला संघसँग समन्वय गरी करिब १८ हजार मूल्य बराबरको खाद्यान्न र फलफूल प्रदान गरेको हो ।
जेष्ठ नागरिक जिल्ला संघका अध्यक्ष भोलानाथ योगीको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका कार्यवहाक नगर प्रमुख सीता सिग्देल न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी १७ जना जेष्ठ नागरिकहरुका लागि उक्त खाद्यान्न र फलफूल वितरण गरिएको हो । चामल, दाल, पिठो, तेल, चिनी, फलफूल, सावुन, सर्फ, जिरा, धनिया, नुन, बेसार र चियापत्ती वितरण गरिएको छ ।
कार्यक्रममा बोल्दै नगर कार्यबहाक प्रमुख न्यौपानेले जेष्ठ नागरिकको सम्मान विना नयाँ पुस्ताको संस्कार रुपान्तरण हुन नसक्ने बताउनुभयो । जन्मदिने बाउआमालाई अहिले पनि हेला गर्ने प्रवृत्ति रहेको भन्दै उहाँले बाउआमाको सम्मानमा लाग्न सबैलाई आग्रह गर्नुभयो । जेष्ठ नागरिकहरु जिउँदा इतिहास भएको चर्चा गर्दै न्यौपानेले अब बाउआमालाई सम्मान गरेर घरमै राख्नेहरुलाई सम्मान गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
जेष्ठ नागरिकहरुको सम्मान र अधिकार संरक्षणका लागि स्थानीय सरकारका हैसियतले बर्सेनी गर्दै आएको नियमित सहयोगलाई यसवर्ष पनि जारी राखिएको र ३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । साथै जेष्ठ नागरिकहरुका लागि प्रत्येक वडाहरुमा जेष्ठ नागरिक दिवासेवा केन्द्र स्थापना गर्ने नीति अघि सारिएको बताउनुभयो ।
संघका सचिव दधिराम खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोती विश्वकर्माले गर्नुभएको थियो । यसैबीच जेष्ठ नागरिक दिवसका अवसरमा एप्पल मन्टेश्वरी घोराही १० नारायणपुरले तेरौँटेका जेष्ठ नागरिकहरुलाई फलफूल वितरण गरिएको शिक्षक सुष्मा केसीले जानकारी दिनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस