घोराही, १ जेठ । दाङ सूचना तथा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो मध्यपश्चिमको १२ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । स्थापना दिवसका अवसरमा रेडियोले रक्तदान, वृद्धवृद्धालाई खाद्यान्न वितरण गर्दै मंगलवार शुभकामना आदानप्रदान कार्यक्रम समेत गर्‍यो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं रेडियोका संस्थापक अध्यक्ष तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माले मिडिया शिक्षाको आवस्यकता औँल्याउनुभयो । जिम्मेवारीका हिसाबले मिडिया संवेदनशील र महत्वपूर्ण भन्दै शर्माले ठूलो जिम्मेवारी लिएर काम गर्नेले आफ्ना काम र सेवाका विषयमा कहिल्यै समीक्षा नगर्नु दुःखद् पक्ष भएको बताउनुभयो ।
मिडियाका निश्चित लक्ष्य रहेको चर्चा गर्दै प्रमुख अतिथि शर्माले एउटै लक्ष्य प्राप्तिका विषयमा विभाजित मानसिकता बोकेर हिँड्न नहुनेमा जोड दिनुभयो । सत्य, तथ्य सूचना दिने मिडियाको साझा लक्ष्य हो, त्यसमा विभाजित हुनुपर्ने कारण छैन प्रमुख अतिथि शर्माले भन्नुभयो,–’सबै एकजुट हुने र आफ्ना कामको समीक्षा गरेर अघि बढ्ने काम मिडियाकर्मीहरुले गर्नु जरुरी छ ।’ उहाँले मोफसलका मिडियामा आत्मसमीक्षा नहुनु कमजोरी भन्दै मिडिया शिक्षा आवस्यकता औँल्याउनुभयो । उहाँले मिडियामा काम गर्दा हुने त्रुटीलाई सच्याउने र भाषा सवलीकरणका लागि मिडिया शिक्षालाई ध्यान दिन सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । नेपाली भाषाप्रति पछिल्लो पुस्ताको अरुचिले समस्या बल्झिँदै गएको बताउनुभयो । उहाँले दाङमै पहिलो पटक रेडियोले स्मारिका प्रकाशन गरेर इतिहासलाई लिपिबद्ध गर्ने काम गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले लोकतान्त्रिक संस्कार, संस्कृति र संरचनाको  प्रवद्र्धनका लागि रेडियोले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । बदलिँदो संरचनामा हुने नीति निर्माण, नागरिक अधिकार र स्वतन्त्र प्रेसका मूल्य मान्यतालाई स्थापित गर्न रेडियोले सधैँ खबरदारी गर्नुपर्ने भन्दै मिडियाले आफ्नो विश्वसनीयता जोगाइराख्नुपर्नेमा जोड दिनुभयो । ‘सञ्चार माध्यमको प्रकाशन, प्रसारण सामग्रीलाई रेफरेन्स राखेर न्यायपालिकामा बहस हुन्छ, नीति निर्माताले नीति बनाउँछ’ पोख्रेलले भन्नुभयो,– ‘तर मिडियाले विश्वसनीयता गुमायो र कतै चुक्यो भने न्याय गलत हुन्छ, नीति पनि गलत निर्माण हुन्छ ।’ उहाँले स्थानीय सरकारलगायत तीन तहका सरकारको गतिविधि नागरिकमैत्री भएनभएको खवरदारी गर्न जरुरी रहेको बताउनुभयो ।
सो अवसरमा बोल्दै सामुदायिक रेडियो प्रशारक संघका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले समाज रुपान्तरण र समाज विकासमा सामुदायिक रेडियोले महत्वपूर्ण भूमिका खेले पनि राज्यले सामुदायिक रेडियोलाई हेर्ने दृष्टिकोण फरक रहेको बताउनुभयो । उहाँले जनआन्दोलनलगायत नेपालका परिवर्तनमा सामुदायिक रेडियोले खेलेको भुमिका सरकारले बिर्सिएको भन्दै उल्टै सेना प्रहरीलाई पनि रेडियो सञ्चालनको लाइसेन्स बाँडेको आरोप लगाउनुभयो ।
यसैगरी नेकपा एमालेका अध्यक्ष टीकाराम खड्का, माओवादी केन्द्रका विश्वराज आचार्य र नेपाली काँग्रेसकी कोषाध्यक्ष सावित्रा रानाले रेडियोको प्रगतिको शुभकामना व्यक्त गर्दै राजनीतिक अधिकारको लडाई सकिसकेकाले अब रेडियोले उत्पादनलाई जोडेर आफ्ना कार्यक्रमलाई अघि बढाउनुपर्ने बताउनुभएको थियो ।
रेडियो सञ्चालक समितिका अध्यक्ष माधवप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता न्यौपाने, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, सामुदायिक रेडियो प्रशारक संघका प्रदेश संयोजक केपी घिमिरे, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल, दाङका प्रहरी प्रमुख एसपी दुर्गा सिंह, जिल्ला सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद शर्मा, महिला मानवअधिकार रक्षक सञ्जालकी केन्द्रीय सचिव लक्ष्मी आचार्य, राप्ती साहित्य परिषदका अध्यक्ष पुरुषोत्तम खनाललगायतले आवाजहीनहरुको आवाजको रुपमा रेडियो सदैव अगाडि बढ्नुपर्ने भन्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सञ्चालक समितिका कोषाध्यक्ष शारदा शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव सुदर्शन रिजाल र मधुसुदन वैद्यले गर्नुभएको थियो ।

स्मारिका विमोचन
यसैवीच स्थापना दिवसका अवसरमा प्रकाशित स्मारिकाको प्रमुख अतिथि नारायणप्रसाद शर्माले विमोचन गर्नुभएको छ । रेडियो स्थापना, रेडियोको भूमिका, नेपाली सञ्चारको अवस्था र इतिहासलगायत विभिन्न पक्षलाई समेटेर स्मारिका प्रकाशन गरिएको छ । यसैवीच स्थापना दिवसका अवसरमा रेडियोले उत्कृष्ट कर्मचारी, कार्यक्रम सञ्चालक र विज्ञापनदातालाई सम्मान गरेको छ । रेडियोले उत्कृष्ट कर्मचारीको रुपमा प्रेमबहादुर राम्जा, उत्कृष्ट कार्यक्रम सञ्चालकको रुपमा तीर्थराज चौधरी र चन्द्रप्रकाश नेपालीलाई सम्मान तथा पुरस्कृत गरेको हो । त्यस्तै उत्कृष्ट विज्ञापनदाताको रुपमा गोरखा हस्पीटल प्रालि र कालिका साइकिल स्टोरलाई पनि सम्मान गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस