घोराही, २६ जेठ । महिलाहरुका लागि सेनेटरी प्याड निर्माण तालिम लक्ष्मीपुरमा सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ३ र निगरानी समूह लक्ष्मीपुरको संयुक्त आयोजना तथा इन्सेक दाङको समन्वयमा कार्यक्रम सम्पन्न भएको थियो ।निगरानी समूहकी अध्यक्ष खिमा शर्माको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष माधवप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले महिलाहरुका लागि यो तालिमले धेरै सहजता ल्याउने बताउनुभयो । तालिमपछि महिलाहरु सेनेटरी प्याड आफै निर्माण गर्नसक्ने हुनाले यसले महिनावारीका समयमा धेरै सहजता ल्याउने उहाँको धारणा थियो । सेनेटरी प्याडको अभावमा महिलाहरुले विद्यालय, कार्यालय एवं सार्वजनिक स्थानहरुमा कठिनाइ व्यहोर्नु परेको भन्दै अध्यक्ष चौधरीले आगामी वर्ष वडाले बजेट विनियोजन गरी वडाका हरेक महिलाहरुलाई आफ्नो लागि आवश्यक प्याड आफै निर्माण गर्नसक्ने बनाउने बताउनुभयो ।

तालिमको प्रशिक्षकमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका राजकुमार पोख्रेल रहनुभएको थियो । निगरानी समूहकी सचिव पार्वता सुवेदीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । तालिममा १५ जना महिलाको सहभागिता रहेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस